काठमाडौं, फागुन २० । फिफा विश्वकप छनोट अन्तर्गत नेपालले घरेलु मैदानमा अष्ट्रेलियासँग खेल्ने भनेको खेल स्थगित भएको छ । चैत १७ गते दशरथ रंगशालामा हुने भनिएको खेल अन्तिम समयमा स्थगित भएको हो ।
एशियन फुटबल महासंघ एएफसीले कोरोना भाइरसका कारण विदेश यात्रामा लागेको प्रतिबन्धका कारण अन्तिम समयमा नेपाल र अष्ट्रेलियाविचको खेल स्थगित गरिएको हो ।
पछिल्लो पटक कोरोनाको दोस्रो लहर चलिरहेका बेला अर्को देश यात्राकालागि रोक लगाइएको छ । यस्तैमा अष्ट्रेलियाका केहि खेलाडी यूरोपमा खेल्दै आएका छन । उनीहरुलाई यो खेलका लागि बोलाउन कठिन हुने भन्दै अष्ट्रेलियन फुटबल संघले यो खेल सार्नका लागि एएफसीलाई आग्रह गरेको थियो ।
जसमा एएफसीले त्यसलाई स्विकार गरेको र यो खेल स्थगित भएको एन्फाका एक पदाधिकारीले बताए । यो खेल अब अगामी जुनमा हुने संभावना रहेको छ ।
विश्वकप एशिया एशियन कप छनोट अन्तगर्त नेपालले घरेलु मैदानमा तीन खेल खेल्ने तालिका थियो ।
जसमा चाइनीज ताइपेइको खेल यसअघि नै स्थगित भइसकेको छ । अब अष्ट्रेलियाको खेलपनि स्थगित भएको छ । जसका कारण नेपालले फेरी घरेलु मैदानमा प्रतियोगिता खेल्नका लागि केहि समय कुर्नुपर्ने भएको छ ।
पछिल्लाे पटक एएफसीले पनि काेराेनाका कारण खेलाडीकाे स्वास्थ्यलाई पहिलाे प्राथमिकता दिने र सकभर एकै स्थानमा बाँकी खेल खेलाउने याेजना बनाएकाे छ ।

