नवराज सुबेदी
मेचीनगर, बैशाख १ । पूर्वी तराईका जिल्लाहरुमा व्यवसायिक सुपारी खेति गर्ने बढ्दै गएका छन् । विगतमा खेतको आलीमा वा खाली रहेको जमिनमा सुपारी लगाउनेहरुले हाल खेतबारीमा अरु अन्नबालीको सट्टा सुपारी खेति गर्ने गरेका छन् । जसअन्तर्गत झापा मेचीनगरमा पनि सुपारी खेतितर्फ किसानको आकर्षण बढेको छ । मेचीनगरको उत्तरी ग्रामिण क्षेत्रमा सुपारी खेतितर्फ मानिसहरुको आकर्षण बढ्दै गएको हो ।
आफ्नै बारीमा जौ घाँस काट्दै गर्दा भेटिनुभएका झापा मेचीनगर ९ मागुरमाडीका किसान चन्द्र प्रसाद उप्रेतीले ३ वटा माउ गाई र ८ वटा बाख्रा पाल्नुभएको छ । अनि १० कट्ठा जमिनमा सुपारी पनि लगाउनुभएको छ । तर उहाँको लक्ष्य भने व्यवसायीक सुपारी खेति गर्ने हो ।
सुपारी खेतिलाई प्रमुख आम्दानीको स्रोत बनाउनेमा झापा मेचीनगर १ देविगञ्जका किसान याम हुमागाई पनि हुनुहन्छ । सुपारी खेतिका लागि खासै मिहेनत नपर्ने र आम्दानी पनि निकै राम्रो हुने हुमागाईको बुझाई छ । ग्रामीण भेगमा बसेर सुपारी खेतिलाई व्यवसायिकिकरण गर्नुभएका उहाँले सुपारी खेति सगँसगै सुपारीको व्यापार पनि गर्नुहुन्छ ।
झापा मेचीनगरको उत्तरी ग्रामिण भेगमा पर्ने यस मेचीडागीँ क्षेत्र सुपारी जोन घोषणा भएको क्षेत्र पनि हो । यहाँका अधिकांश घरमा लटरम्म सुपारी फलेको देख्न सकिन्छ । मेचीडागीँका किसान ताल बहादुर प्रधानले एक बिगाहा भन्दा धेरै जमिनमा सुपारी खेति गर्नुभएको छ । सुपारी खेतिमा राम्रो मेहेनत गर्न सके यस खेतिबाट अत्यन्तै राम्रो आम्दानी हुने उहाँको बुझाई छ ।
उत्पादन भए सुपारीबाट राम्रो आम्दानी हुने भएपनि कतिपय किसान बोटमा फूल फुल्ने तर फल नलाग्ने समस्या रहेको बताउँछन् । साथै सुपारीको व्यवसायिक खेतिका लागि पर्यापत सिँचाईको समेत अभाव रहेको मेचीनगर १ का किसान लेखनाथ पौड्याल बताउनुहुन्छ ।
सुपारी जोन घोषणा भएको क्षेत्रमा सुपारी खेति तर्फ नै मानिसहरुको आकर्षण बढ्नु एक सकरात्मक पक्ष हो, तर सुपारी जोन क्षेत्रमै सिँचाई अभाव हुँदा समस्या भएको किसानहरु बताउँछन् । यसमा सम्बन्धित पक्षको ध्यान जानुपर्ने उनिहरुको भनाई छ ।

