संघ \संस्था

मेचीनगर ८ वडा कार्यालयद्वारा किसानलाई नि:शुल्क उन्नत जातको धानको बीउ वितरण

मेचीनगर, जेठ १९ । देशका थुप्रै किसानहरू यतिबेला उन्नत जातको धानको बिउ नपाएर हैरान भईरहेको छन् । कतिपय किसानहरूले महंगो शुल्क तिरेर पनि आफुले चाहेको धानको बीउ समयमा खरीद गर्न नपाएका गुनासो गरिरहेका छन् ।

तर झापाको मेचीनगर नगरपालिका वडा नम्बर ८ का किसानहरूले भने आफुले चाहेको (कान्छी मन्सुली, राजा १२, समधान, बहुगुना २, रातो बासमती, कालो नुनिया) लगायतका धानको बीउ सहजरूपमै पाएका छन् ।

मेचीनगर ८ वडा कार्यालयले नि:शुल्क उन्नत जातको धानको बीउ वितरण गरेसंगै सो वडाका किसानहरूले सहजरूपमा आफुले चाहेको धानको बीउ पाएका हुन् । वडाले मेची कृषक बहुमुखी सहकारी संस्थाद्वारा सञ्चालीत पोष्टहार्बेष्टबाट खरिद गरि उन्नत जातको धानको बीउ वितरण गरेको हो ।

यतिबेला किसानहरूलाई धानको बीउ छर्ने चटारो छ । मानो रोपेर मुरी फलाउने समयमा मेचीनगर ८ वडा कार्यालयले वडाका दुई सय बढी किसानलाई प्रति कठ्ठा दुई केजीका दरले आवश्यक जग्गा अनुसारको उन्नत जातको धानको बीउ वितरण गरेको मेचीनगर ८ का वडाध्यक्ष विकेन्द्र धिमालले बताए ।

काेराेनाकाे महामारीले यतिबेला सबै व्यवसायलाई चौंपट पारेको छ । अहिलेको विषम् परिस्थितिमा सबै भन्दा भरपर्दो पेशा भनेको कृषि नै बनेको छ, मेचीनगर ८ का वडा सदस्य सन्तोष मेचेले भने, त्यसैले हामीले आफ्ना वडाबासीलाई कृषिमा आत्मानिर्भर बनाउन उन्नत जातको धानको बीउ सबैको पहुचमा पुग्नेगरि वितरण गरिएको बताए ।