खेलकुद

ब्राजिल विजयी, पेरु ४-० गोल अन्तरले पराजित

काठमाडौं, असार ४ । कोपा अमेरिका फुटबल प्रतियोगितामा आयोजक ब्राजिल विजयी भएको छ ।

शुक्रबार बिहान भएको खेलमा पेरुलाई ४-० गोल अन्तरले पराजित गर्दै ब्राजिलले लगातार दोस्रो जित दर्ता गरेको हो ।

ओलम्पिक निल्टन सान्तोस स्टेडियममा ब्राजिललाई जित दिलाउन एलेक्स सान्ड्रो, नेयमार, एभर्टन रिबेरो र रिचार्लीसनले एक एक गोल गरे ।

यस जितसँगै समूह ‘बी’ मा रहेका ब्राजिलले २ खेलमा ६ अंक जोडेको छ । ब्राजिल समूहको शीर्ष स्थानमा रहेको छ ।

पहिलो खेल खेलेको पेरुको यो पहिलो हार हो । पेरु समूहको पुछारमा रहेको छ ।

यसै समूहको अर्को खेलमा कोलम्बिया र भेनेजुएलाले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् । कोलम्बिया २ खेलमा ४ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।
एक अंक जोडेको भेनेजुएला तेस्रो स्थानमा रहेको छ ।