झापा, असार ४ । आपद् विपदमा परेकाहरुलाई सहयोग गर्ने अभिप्रायले सञ्चालनमा आएको `मेची अभियान´ले शुक्रबार झापाका दुईवटा पालिकालाई पाँचवटा ‘अक्सिजन कन्सन्ट्रेटर’ प्रदान गरेको छ ।
२०७२ सालको भूकम्पका वेला सञ्चालनमा ल्याईएको यो अभियानका परिकल्पनाकार एवम् नेपाली काँग्रेसका प्रवक्ता समेत रहेका विश्वप्रकाश शर्माको विशेष पहलमा करिना फाउण्डेशनद्वारा सहयोग गरिएका यी सामग्री हस्तान्तरण गरिएको छ ।

कोभिडको महामारीमा अन्य रोगीहरूले उपचार सेवा नपाउने अवस्था भएपछि झापामा ननकोभिड विरामीहरूका लागि टेलिमेडिसिन सेवा सञ्चालन गरीरहेको मेची अभियानले मेचीनगर नगरपालिका र बुद्वशान्ति गाउँपालिकालाई ‘अक्सिजन कन्सन्ट्रेटर’ प्रदान गरेको अभियानका संयोजक विजय डालमियाले बताए ।
संयोजक डालमियाका अनुसार मेचीनगर नगरपालिकाले सञ्चालन गरिरहेको धाइजन स्थित स्वास्थ्य केन्द्रमा रहेको आइसोलेशनमा एउटा तथा मेचीनगर–१० धुलावारीस्थित आम्दा मेची अस्पताललाई दुईवटा अक्सिजन कन्सन्ट्रेटर प्रदान गरिएको हो ।
यसैगरी, बुद्वशान्ति गाउँपालिकाद्वरा सञ्चालित महिला सामुदायिक भवनमा रहेको आइसोलेशन वार्डलाई समेत दुईवटा ‘अक्सिजन कन्सन्ट्रेटर’ प्रदान गरिएको छ ।
कार्यक्रममा मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा, मेचीनगर वडा नम्बर १० का वडाध्यक्ष सुदयकुमार पनेरु, आम्दा मेची अस्पतालका डाक्टर पोषणरमण त्रिपाठी, मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना, अभियानका परिकल्पनाकार एवम् नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, संयोजक विजय डालमिया, सदस्यहरु उमेश सुवेदी पुष्पराज पौडेल लगायतले उक्त सामग्री हस्तान्तरण गरेको मेचीनगर नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए ।
बुद्वशान्ति गाउँपालिकामा काँग्रेसका प्रवक्ता शर्मा, संयोजक डालमियाले गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेल, स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीलाई प्रदान गरेका थिए ।

