झापा, असार ७ । १६ औं संस्करणको युरोकप फुटबल प्रतियोगितामा आईतवार दुई खेल भएका छन् जसमा इटाली र स्विट्जरल्यान्ड विजयी भए ।
रोममा आइतबार राति समूह चरणको अन्तिम खेलमा वेल्सलाई १-० गोल अन्तरले पराजित गर्दै इटाली समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।
वेल्सविरुद्ध इटालीलाई जित दिलाउन माटियो पेसीनाले खेलको ३९ औं मिनेटमा निर्णायक गोल गरे ।
यस जितसँगै समूह ‘ए’ को इटालीले समूह चरणमा शतप्रतिशत जित निकालेको छ । इटालीले ३ खेलमा ९ अंक जोड्यो । र, समूहको विजेता बन्दै अन्तिम १६ मा पुगेको हो ।
इटालीसँग पराजित भएपनि वेल्स उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।
त्यस्तै आइतबार राति नै भएको समूह चरणको अन्तिम खेलमा टर्कीलाई ३-१ गोल अन्तरले परजित गर्दै स्विट्जरल्यान्डले पहिलो जित निकालेको हो ।
बाकुमा स्विट्जरल्यान्डलाई जित दिलाउन जद्रान शाकिरीले दुई गोल गरे । हरिस सेफेरोभीले एक गोल गरे ।
टर्कीका इरफान केभाचीले एक गोल फर्काए ।
समूह चरणको अन्तिम खेलमा जित निकालेपनि स्विट्जरल्यान्ड सिधै नकआउट चरणमा प्रवेश गर्न असफल भएको छ ।
तर, स्विट्जरल्यान्डको समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट चार टिम बन्दै अन्तिम १६ मा स्थान बनाउने सम्भावना रहेको छ । जसको लागि सबै समूह चरणको खेल सकिनु पर्नेछ ।

