काठमाडौं, साउन २२ । अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले स्पेनिस क्लब बार्सिलोनाबाट बिदा लिएका छन् । बार्सिलोनाले बिहीबार विज्ञप्ति जारी गर्दै कप्तान मेस्सीसँग सम्झौता नवीकरण हुन नसकेको जनाएको छ ।
खेलाडी र क्लब सम्झौता नजिक पुगेको भएपनि ला लिगाको वित्तीय संरचनाको कानुनी बाधाका कारण मेस्सीसँग सम्झौता नवीकरण हुन नसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसअघि मेस्सीले बार्सिलोनासँग सन् २०२६ सम्म सम्झौता थप्न सहमति जनाएको बताइएको थियो । ६ पटकका बालोन डी‘ओर विजेता मेस्सी तीन साताअघि नै बार्सिलोना पाँच वर्षे सम्झौता गर्न समहत भएको जनाइएको थियो ।
सन् २००४ यता बार्सिलोनाबाट खेल्दै आएका मेस्सीको सम्झौता ३० जुनबाट सकिएको थियो । सम्झौता सकिएको दुई सातापछि मेस्सी सन् २०२६ सम्म बार्सिलोनामै बस्न सहमत भएको र ५० प्रतिशत तलब कटौती गर्न पनि उनी सहमत भएको जनाइएको थियो । तर बार्सिलोनाले मेस्सीसँग सम्झौता नवीकरण नभएको जनाएको छ ।
अब मेस्सी फ्री ट्रान्सफरमा अन्य क्लब जानेछन् । बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले सात सय ७८ खेलमा ६ सय ७२ गोल गरेका छन् । उनले बार्सिलोनाबाट १० ला लिगा, चारवटा च्याम्पियन्स लिग र सातवटा कोपा डेल रेको उपाधि जितेका छन् ।

