काठमाडौं, भदौ २७ । नेकपा एमालेले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना संशोधन हुनुपर्ने निष्कर्ष निकालेको छ ।
तत्कालीन नेकपाको कार्यदलले दिएको ‘संशोधनसहित एमसीसीलाई अगाडि बढाउने’ सुझावमा एमाले कायम रहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
स्थायी समिति बैठक बसेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले एमसीसी सम्झौता हुँदै हुन्न भन्ने पक्षमा एमाले नरहेको बताए ।
‘एमसीसीलाई रिजेक्ट गर्ने एमसीसी हुँदै हुँदैन भन्ने हाम्रो डिस्कोर्स होइन । एमसीसीमा भएका कतिपय व्याख्याहरुलाई पुनर्व्याख्या गर्नुपर्नेछ छ ।
अझै बढी राष्ट्रिय हित अनुकूल बनाउनुपर्ने छ । यी सबै कुरामा आवश्यक संशोधन गरेर एमसीसी अगाडि बढाउने भन्ने त्यो बेला (तत्कालीन नेकपाको तीन सदस्यीय कार्यदल)को निर्णय हो ।
अहिले पनि हाम्रो पार्टी त्यो निर्णयमा कायम छ,’ उनले भने । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

