राजनीति

नेपाली कांग्रेस इलामको सभापतिमा डम्बर खँड्का निर्वाचित

नरेन इलामेली

इलाम । नेपाली कांग्रेस इलामको जिल्ला सभापतिमा डम्बरबहादुर खड्का निर्वाचित भएका छन् । खँड्काले प्रतिस्पर्धी भेषराज आचार्यलाई १ सय ६० को मतान्तरले पराजित गर्दै खड्का विजयी बनेका हुन् । नयाँ नेतृत्व चयनका लागि शुक्रबार सम्पन्न मतदानको शनिबार साँझ निर्वाचन समितिले अन्तिम मतपरिणाम सार्वजनिक गरेको हो ।

अन्तिम मतपरिणाम अनुसार खड्काले ९ सय ३५ मत प्राप्त गरे । उनका प्रतिष्पर्धी आचार्यले ७ सय ७५ मत प्राप्त गरे । निर्वाचनमा एक हजार ७ सय ३२ मत खसेको थियो । त्यस्तै उपसभापति पदमा खगेन्द्र देवान (८ सय ७४ मत) र विष्णुकुमारी लिम्बू दहाल (७ सय ७८ मत) निर्वाचित भएका छन् ।

निर्वाचित दुवै उपसभापतिमा आचार्य समूहका उम्मेद्वार विजयी भएका छन् । खड्का समूहका केदार थापाले ७ सय ४७ मत र होमप्रसाद दुलालले ६ सय ९९ मत पाएर पराजित बने । दुई सचिव पदमा आचार्य समूहका पूर्णप्रसाद गौतम र खँड्का समुहका निरोज खड्गी विजयी भएका छन् । गौतम ८ सय १९ मत र खड्गी ७ सय ९३ मतका साथ विजयी भएका हुन् ।

त्यस्तै दुई सहसचिवमा खड्का समूहबाट डालाकुमारी कार्की ८ सय ६५ मत र आचार्य समूहका देवेन्द्रकुमार सुवेदी ७ सय ८१ मतका साथ विजयी बने ।