खेलकुद

नेपाल: टी–२० विश्वकप खेल्ने सपना अधुरै

काठमाडौँ आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको जित्नैपर्ने अन्तिम खेलमा यूएईसँग ४८ रनले पराजित भएको छ।  यो पराजयसँगै नेपाली महिला टोलीको आईसीसी महिला टी–२० विश्वकप खेल्ने सपना अधुरो बनेको छ ।

दुबईस्थित आईसीसी एकेडेमी मैदानमा आज भएको अन्तिम खेलमा यूएईले दिएको एक सय २८ रनको विजय लक्ष्य पछ्याएको नेपाल १९.४ ओभरमा सबै विकेटको क्षतिमा ७९ रनमा समेटिएको थियो ।

नेपालका लागि इन्दु बर्माले १५ रन बनाउनुभयो । सीता रानामगरले १३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सक्नुभएन।

नेपाललाई सस्तैमा समेट्न समैरा धारनीधारकाले सर्वाधिक चार विकेट लिनुभयो । खुशी शर्मा र चामानी सेनेभिरत्नाले समान दुई दुई विकेट लिनुभयो । चाया मुगलले एक विकेट लिनुभयो ।

यसअघि दुबईको आईसीसी एकेडेमी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली संयुक्त अरव इमिरेट्स (यूएई)) ले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय २७ रन बनाएको छ ।

यूएईका लागि चामानी सेनेभिरत्नाले सर्वाधिक ५२ रन बनाउनुभयो । थिर्था सतिसले ४७ र कभिसा इगोडेजले २२ रन बनाउनुभयो ।

बलिङमा नेपालकी कविता कुँवरले दुई तथा सवनम राई, सीता रानामगर र संगीता राईले एक एक विकेट लिनुभयो । जितसँगै यूएईले टी–२० विश्वकप ग्लोबल छनोटमा स्थान बनाएको छ । ६ टोली सहभागी छनोट खेलमा यूएई एक्लो अपराजित टोली हो । शीर्षस्थानमा रहेको यूएईको १० अङ्क छ । दोस्रो स्थानमा रहेको नेपालको ६ अङ्क छ ।