अर्थ स्वास्थ्य

मृगौला पीडित सुवेदीलाई अष्ट्रेलियाबाट ७५ हजार आर्थिक सहयोग

मेचीनगर । दुवै मृगौला खराब भएर उपचारका लागि आर्थिक अभाव झेलिरहेका झापाको मेचीनगर वडा नम्बर -६ स्थित लक्ष्मिटाेल निवासी ४० वर्षीय मृगौला पीडित मानबहादुर सुवेदीकाे उपचारका लागि अष्ट्रेलियाबाट ७५ हजार रूपैयाँ सहयोग रकम प्राप्त भएको छ।

काकडभिट्टा घर भई रोजगारी तथा पढाइको सिलसिलामा अष्ट्रेलियामा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले संयुक्त रूपमा रू ७५ हजार रूपैयाँ आर्थिक सहयोग गरेका हुन्,। उक्त सहयोग रकम आज पत्रकार तथा समाजका अगुवाहरूकाे उपस्थितिमा पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।

दुवै मृगौला खराब भई उपचार खर्चको अभाव झेलिरहेका मानबहादुरकाे परिवारले केहिदिन अघि पत्रकार सम्मेलन गर्दै सहयोगकाे अपिल गरेको थियोे । उक्त समाचार सार्वजनिक भएपछि मानबहादुर सुवेदीकाे विषयमा अष्ट्रेलियाबाट सहयोगी समुहले चासो देखाएको थियोे ।

लामो समयदेखि चालकको रूपमा काम गर्दै आएका सुवेदीको परिवारको आर्थिक अवस्था कमजोर रहेका कारण मृगौला प्रत्यारोपण गर्न समस्या भएको र उपचारमा संलग्न डाक्टरका अनुसार उनको दुई महिनाभित्रै मृगौला प्रत्यारोपण गरिसक्नुपर्ने मानबहादुरकी श्रीमती बबिता सुवेदिले जानकारी दिइन् । उनले अष्ट्रेलियाबाट नाम नखुलाई सहयोग गर्ने सहयोगी हातहरूलाई विशेष धन्यवाद प्रकट गर्दै मानबहादुरकाे जीवन बचाइदिन सबैलाई अपिल गरेकी छिन्,।

विगत ४ महिनाअघि स्वास्थ्यमा समस्या आएपछि उपचारका लाग विराटनगर स्थित नोवेल अस्पताल पुगेका मानबहादुरकाे दुबै मृगौला फेल भएको पत्ता लागेको थियोे । त्यसपश्चात सुवेदीकाे परिवारले उनको उपचारका लागि काठमाडौं स्थित टिचिङ अस्पतालमा उपचार गराइरहेको र हालसम्म ११ लाखभन्दा बढी खर्च भैसकेको पत्रकार सम्मेलनमार्फत परिवारले जानकारी दिएकाे थियोे ।

चालक पेशाबाट मानबहादुरले पाँच जनाको परिवार पाल्दै आएपनि उनी आफैं बिरामी परेपछि उनलाई बचाउन सबैले सहयोग गरिदिनका लागि मानबहादुरकी श्रीमतीले अपिल गरेकी छिन्,। मानबहादुरकाे परिवारमा २ छोरी १ छोरा सहित पाँच जना रहेका छन्,।

पत्रकार सम्मेलन मार्फत सहयोग आह्वान गर्दै मानबहादुरकाे परिवार

पीडित मानबहादुरकाे स्वास्थ्य अवस्था जटिल बन्दै गएकाे र उनका बुवा ललितबहादुर सुवेदीले मृगौला दिने तयारी गरिएपनि प्रत्यारोपणका लागि २० लाखभन्दा बढी रकम आवश्यक हुने हुँदा सबैले सकेको सहयोग गरिदिनुहुन परिवारले अपिल गरेको छ । हाल पीडित मानबहादुरकाे काठमाडौ स्थित टिचिङ अस्पतालमा उपचार भैरहेको छ।

मानबहादुरकाे उपचारमा आर्थिक सहयोग गर्न देश तथा विदेशमा रहेका सबै सहयोगीहरुमा मानबहादुर सुवेदीको नाममा रहेको सिद्धार्थ बैंकको खाता नम्बर ०२२१५२०८७०१ मा रकम जम्मा गरिदिन परिवारले सबैमा सार्वजनिक अपिल गरेको छ ।