झापा । हरेक बर्ष मकर संक्रान्तिका दिन झापाको कन्काई माइमा लाग्दै आएको माइमेला स्थगित भएको छ । कोरोना संक्रमण बढ्दै गएका कारण अन्तिम अवस्थामा आएर मेला स्थगित भएको हो ।
मेलाको सम्पूर्ण तयारी भइसकेपनि कोरोना संक्रमण बढेको भन्दै कोभिड १९ संकट व्यवस्थापन केन्द्रले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेसँगै मेला स्थगित गरिएको हो ।
मेला व्यवस्थापनका लागि ठेक्का समेत लागि सकेको अवस्थामा कोरोना संक्रमण बढ्ने जोखिमलाई मध्यनजर गर्दै मेला स्थगित गरिएको कन्काई नगरपालिकाका प्रमुख राजेन्द्र पोख्रेलले जानकारी दिए । ‘कोटी होम लगायत संस्थाहरुलाई मेला आयोजना गर्न आग्रह गरेका थियौँ तर उहाँहरुले असमर्थता जनाएपनि नगरपालिकाको सहयोगमा वडाले ठेक्का समेत लगाइसकेका थियौँ,’ नगर प्रमुख पोख्रेलले भने,‘कोरोना बढेको सन्दर्भमा आज शिवसताक्षी नगरपालिका, सुरक्षा निकाय लगायतको उपस्थितीमा मेला लगाउन उपयुक्त नहुने निस्कर्ष निकाल्यौँ ।’
पोखरेलले भने, विगतका कमि कमजोरीलाई मध्यनजर गरी यो बर्ष भिटौरी कर, पार्किङ शुल्क लगायतलाई परिमार्जन गरी पाँच लाख रुपैँयामा ठेक्का अन्तिम चरणमा पुर्याइएको भएपनि अन्तिम अवस्थामा मेला स्थगित गरिएको बताए । शिवसताक्षी नगरपालिकाले पनि ठेक्का लगाइसकेको थियो ।

कोरोना तीब्र गतिमा फैलिइरहेको अवस्थामा नगरपालिकाहरुले मेला स्थगित गर्नु स्वागत योग्य कदम भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए । ओमिक्रोन समुदायस्तरमा नै फैलिइसकेको बेला मेला लगाउनु जोखिमपूर्ण हुने उनले बताए ।
दशकौँ अघिदेखि हरेक बर्ष मकर संक्रान्तिमा लाग्दै आएको माइमेला विगत दुई बर्षदेखि लाग्न सकेको छैन । मेला स्थगित भएको यो तेस्रो बर्ष हो । आर्थिक बर्ष ०७४/०७५ मा १२ लाख रुपैँया र ०७५/०७६ मा ८ लाख रुपैँयामा मेला ठेक्का लगाइएको कन्काई नगरपालिकाका प्रमुख पोखरेलले जानकारी दिए । त्यस यता मेला नलगाइएको उनले बताए ।

