बाहुण्डाँगी । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेट लालमणी भण्डारीले मेचीनगर लेडी जेसीजले स्थापनाको छोटो समयमा समाजका लागि गरेका सकारात्मक कार्यहरुको प्रशंसा गर्नु भएको छ । बिहिवार मेचीनगर लेडी जेसीजको आठौँ पदहस्तान्तरण समारोहलाई सम्बोधन गर्दे अध्यक्ष भण्डारीले संस्थाले गरेको काम र पाएको सफलताले आउँदा दिन अझ स्वर्णीम बन्ने र स्थापना समयदेखि गरेका कार्य र २०२१ को नेतृत्वले गरेका हरेक गतिविधिहरु उत्कृष्ट रहेको बताउँदै २०२२ मा पनि उत्तिकै सहकार्य गरेर अघि बढ्न आग्रह गर्नु भयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष भण्डारीले यस संस्थामा नेतृत्व गर्नु भएका पूर्व अध्यक्षहरु राजनीतिक तथा सामाजिक क्षेत्रको अगुवाइ समेत गर्दै आएको बताउँदै समाजले हरेक वर्ष अनुभवी र एक सफल नेतृत्व पाउदै आएको बताउनु भएको छ ।
साथै उहाँले २०२२ मा आफ्नो अभियान पनि २२ वटा शाखामा जेसीज गाउँको परिकल्पना रहेको बताउँदै मेचीनगर लेडी जेसीजले २०१७ देखि नै जेसीज गाउँ सञ्चालनमा ल्याएर विभिन्न कार्यक्रमहरु समेत गर्दै आएको र त्यसलाई आफ्नो कार्यकालमा त्यसका आवश्यकता हेरेर नेपाल जेसीजले आवश्यक सहयोग गर्ने बताउनु भयो । अध्यक्ष भण्डारीले जेसीज युवाहरु सक्रिय युवा नागरिक भएकाले समाज परिवर्तनमा अहम भूमिका रहनु पर्ने र आवश्यक परेको खण्डमा जस्तो सुकै कार्य गर्ने अघि बढ्नका लागि तयार रहनु पर्ने बताउनु भयो ।

अध्यक्ष भण्डारीले जेसीजले हरेक कठिन मोडहरुमा अग्रपंतिमा रहेर काम गर्ने गरेको बताउँदै २ पटकको कोभिडलाई न्यूनिकरण गर्न जुन भूमिका निर्वाह गर्नु भएको थियो त्यस्तै पछिल्लो समय कोभिडको अवस्था बढ्दै गएकाले यसका निम्ति पनि तयारी अवस्थामा रहन जेसीजका सदस्यहरुलाई आग्रह गर्नु भयो ।

कार्यक्रमकी विशेष अतिथि मेचीनगर नगरपालिकाकि उपमेयर मिना उप्रेतीले नगरका सामाजिक संघ संस्थाहरु मध्ये मेचीनगर लेडी जेसीजले नगर क्षेत्रमा गरेका कार्यप्रति आभार व्यक्त गर्नु भयो । उहाँले यस संस्थाबाट निरन्तर सहयोगको अपेक्षा गरेको र आउँदा दिनमा संस्थालाई नगरपालिकाले सहयोग गर्न कहिँ पनि कञ्जुस नगर्ने बताउनु भयो । साथै उहाँले मेचीनगरले सेनीटरी प्याड बनाउनु मेसिन ल्याउने तयारी गरिरहेको बताउँदै आवश्यक समन्वय भए यसको सञ्चालनका लागि मेचीनगर लेडी जेसीजलाई दिन तयार भएको बताउँनु भयो । उपमेयर उप्रेतीले संस्थाले निर्माण गर्दे गरेको आश्रम भवनका लागि निरन्तर सहयोग हुँदै आएको र यो वर्ष पनि बजेट विनियोजन भएको बताउनु भयो ।

सोही कार्यक्रममा जेसीजले दुईवटा पुरस्कार पनि वितरण गरेको थियो । धुलाबारी लेडी जेसिजले पर्शुराम सावित्री उत्कृष्ट सदस्य अवार्डद्वारा सन् २०२१ की उपाध्यक्ष बबिता पनेरु प्रसाईंलाई सम्मान गरेको थियो भने जयन्ती बराल स्मृति अवार्डद्वारा सन् २०२१ की तालिम बिभाग प्रमुख पवित्रा बिमली प्रसाईंलाई सम्मान गरेको थियो ।
धुलाबारीस्थित कृष्ण पार्टी प्यालेसमा सम्पन्न उक्त कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सीता गिरी पुरीलाई २०२१ की अधयक्ष सुशिला खतिवडाले आफ्नो गलमा भएको जसीज चेन हस्तान्तरण गर्नु भएको थियो । यस अघि भएको निर्वाचनबाट कार्यकारीणी उपाध्यक्ष रेजिना श्रेष्ठ र बबिता प्रसाई, उपाध्यक्षहरुमा जीना श्रेष्ठ, रश्मी प्रधान र अनु कटवाल निर्वाचित हुनु भएको थियो भने नवनिर्वाचित अध्यक्ष गिरीले महासचिव पबित्रा बिमली, कोषाध्यक्ष गीता ओझा, कानूनी सल्लाहकार तुलसा दङगाललाई मनोनित गर्नु भएको थियो ।

२०२१ कि अध्यक्ष सुशिला खतिवडाको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेचीनगर लेडी जेसीजकी संस्थापक अध्यक्ष कविता शर्मा, नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष तथा मातृश शाखा धुलावारीका अध्यक्ष राजिव प्रसाईं, राष्ट्रिय निरुपित उपाध्यक्ष कुमारसिंह साँवा, राष्ट्रिय महासचिव कृष्ण सापकोटा, राष्ट्रिय प्रमुख प्रेस सल्लाकार हरिस भट्ट, लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो । कार्यक्रममा मेचीनगरका विभिन्न सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको बाक्लो सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य सन् २०२१ की कार्यकारी उपाध्यक्ष अनिता खनाल गुरागाईले राखेकी थिइन् भने कार्यक्रमको संचालन सीता पुरी र पवित्रा प्रसाई विमलीले गरेका थिए ।

