काठमाडौं । आज (शनिबार) बिहान साढे ९ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकले स्थानीय तहको निर्वाचनबारे निर्णय गर्ने भएको छ ।
स्थानीय तहको निर्वाचनबारे छलफल तथा टुङ्गो गर्न शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बसेको थियो । तर तीन तहमा स्थानीय तहको निर्वाचन भएकाले थप छलफल आवश्यक रहेको भन्दै समितिको बैठकले कुनै निष्कर्ष दिन सकेको थिएन ।

यस्तो पृष्ठभूमिमा स्थानीय तहको निर्वाचनबारे टुङ्गोमा पुग्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको बालुवाटार स्रोतले जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले भने यसअघि प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको थियो ।
यसैबीच, स्थानीय तहलगायत सबै तहको निर्वाचन गराउन एमालेको सहयोग रहने वरिष्ठ उपाध्यक्ष शङ्कर पोखरेललगायत नेताको धारणा सार्वजनिक भएकाले आजको सर्वदलीय बैठकमा एमालेको पनि प्रतिनिधित्व हुनसक्ने राजनीतिक आँकलन गरिएको छ ।

