विचार

‘चेप्टी’ त मैले अनुमान लगाए जस्तै रहेछ फरक रहेछ त जिवनका कथाहरु

नवराज सुवेदी
झापा ।
कतै कच्ची त कतै कालोपत्रे सडक छिचोल्दै हाम्रो यात्रा शुरु भयो । विहानीको समय, चिसो हावा, नौलो गाउँ र अग्ला पहाडहरु हामी सबैका लागि गाडीबाट देखिने मनोरम दृष्यहरु थिए । जाने ठाउँ थाहा भएपनि जाने बाटो हामी सबैलाई थाहा थिएन । झापा छाडेर बनभोज मनाउनका लागि हामी ईलामको यात्रामा थियौँ । अझ भनौँ ईलामको माई नगरपालिका २ मा रहेको नौलो ठाउँ चेप्टी सम्मको गन्तव्यमा थियौं ।

‘चेप्टी’ धेरैलाई यो नाम नौलो लाग्छ । मलाई पनि शुरुमा सुन्दा नौलो नलागेको कहाँ हो र ? सायद २ पहाडको बिचमा चेप्टिएको खोँच भएकाले त्यस ठाउँलाई चेप्टी भनिएको होला ! शुरुमा सुन्दा मैले यसरी नै अनुमान लगाएको थिएँ ।

पछि मेचीनगरमा सञ्चालित संचार माध्यम छड्के अनुसन्धान मिडियाको आयोजनामा वनभोज कार्यक्रम सोहि ठाउँ चेप्टी मा हुने तय भयो । मेचीनगरका संचारकर्मीहरुलाई निमन्त्रणा भयो । जसमध्ये म पनि सहभागी हुने अवशर पाएँ । अनि त देख्न पाएँ मैले अनुमान लगाएको चेप्टी, त्यो पनि प्रत्यक्ष, आफ्नै आँखा अगाडी ।

मैले अनुमान लगाएको चेप्टी त ठ्याक्कै त्यस्तै पो रहेछ । २ पहाडको बिचमा रहेछ, माई खालाको बगरमा रहेछ अनि नयाँ नयाँ संरचनाले सजिएको रहेछ । बालुवाको थुम्कोहरुमा सजिएको रहेछ, झरना र छहराको काखमा रहेछ, झोलुंगे पुलको साहरामा रहेछ अनि त्यहाँका हरेक नागरिकहरुको आशाको केन्द्रमा रहेछ ।

खरायो खेलिरहेथ्यो, मयूर नाचिरहेथ्यो, पानी जहाज बनिरहेथ्यो, चिसो हावा चलिरहेथ्यो अनि हावाको साहरामा बगरका बालुवाहरु उडिरहेथे । मैले अनुमान लगाएको चेप्टी पनि त यस्तै थियो । चेप्टी त त्यस्तै रहेछ, फरक रहेछ त केबल त्यहाँका नागरिकहरुको जिवनशैली ।

हामी यात्रामा थियौं, मनोरञ्जन् र रमाईलोका लागि थियाँै । त्यहाँका सबै नागरिकहरुको जिवनशैली बुझ्ने समय त हामीसगँ थिएन । तर छहरा र पहरामा लुकेका जिवनका कथाहरु भने मैले यात्राकै क्रममा देखिसकेको थिएँ ।

बगरको बाटो, पहाडका थुम्कामा अल्झिएका घरहरु, आफै हराइएला की भन्ने ठुला ठुला जंगल कसरी चलेको होला त्यहाँको जिवन ? कत्ति असहज होला त्यहाँको दैनिकि ?

मनमा यस्ता धेरै प्रश्नहरु थिए । तर उपयुक्त जवाफ आउने वातावरण थिएन । आखिर हामी सबै नौला त थियौँ । कोहि बिरामी हुदाँ कसरी अस्पताल लैजाने ? बगरको बाटो छ, बाढी आउँदा के होला ? नौलो ठाउँमा नौला नै प्रश्न आउँदा रहेछन् ।

समस्या धेरै भएपनि त्यहाँका नागरिकहरुको ठुलो आपेक्षा उहि चेप्टीसगँ नै गाँसिएको रहेछ ।
“चेप्टी बन्ने भएपछि त यहाँ जग्गाको भाउ पनि बढेको छ । अचेल त धेरैले जग्गा बेच्नै छाडिसके” खाजा खाने होटलमा भेटिनुभएका एकजना बा ले भन्नुभयो “विकासले पछि परेको हाम्रो गाउँ आज नयाँ उचाईमा जान खोजिरहेको छ ।”

उहाँले समग्र चेप्टीबासीको आवाज बोलिरहनु्भए जस्तै लाग्यो मलाई । “अलि अलि कमाउने जति सबै विर्तामोड र सुरुंगा गएका छन् बसाँइसराइले चकमन्न भएको गाउँ चेप्टीको आगमनसगैँ रमाएको छ ।” यो पनि उहाँको भनाई हो जसलाई मैले होटलमा भेटेको थिएँ ।

साँच्चै मनमा बिरक्तिएका कुराहरु उहाँले हामीलाई सुनाउँदै हुनुहुन्थ्यो । अनि म सम्झिरहेथेँ ति गाउँ छाडेर शहर झरेका दाजुभाईहरुलाई थाहा छ कि छैन होला ? चेप्टीले समग्र गाउँलेको जिवन बदल्दैछ भनेर !

२ पहाडको बिचमा रहेको खोलाको बगरलाई सजाउँदै निर्माण भइरहेको चेप्टी आफैमा सम्भावनाको खानी हो । आज झापाबाट चेप्टीलाई सम्झदैँ हामी आइपुग्यौँ, भोली देशैभरबाट चेप्टीलाई सम्झिएर हामी जस्तै कयौं आउलान ? बाटो बन्ला, होटलहरु निर्माण होलान्, पानीजहाज चल्ला ! के अनि पनि फेरीदैँन त त्यहाँको जिवनशैली ?