स्वास्थ्य

पीडामाथि पीडा : न जन्मदर्ता, न नागरिकता !

मेचीनगर । राज्यले प्रदान गरेको सेवा सुविधा उपभोग गर्न पाउनु सबै नागरिकको नैसर्गिक अधिकार हो । तर, अझै पनि धेरै नागरिकले सेवा प्राप्त गर्न सकिरहेका छैनन् ।

सधैँ पहुँच हुनेहरुको मात्रै हालिमुहाली रहने हाम्रो समाजमा अझै पनि धेरै गरिब दुःखी र असहायले विभिन्न वहानामा राज्यको सेवा सुविधाबाट बञ्चित हुनु परिरहेको छ । यसको एउटा ज्वलन्त उदाहरण हुन् मेचीनगरका क्षितिज राई ।

मेचीनगर-३ स्थित दोकानडाँडाका जन्मजात शारीरिक असक्त १८ बर्षीय क्षितिज राईले जन्मदर्ता नपाएका कारण राज्यबाट पाउनु पर्नेसेवा सुविधा पाउन सकिरहेका छैनन् । उनलाई मेचीनगर नगरपालिका वडा नम्बर ३ वडा कार्यालयले जन्मदर्ता नदिँदा राज्यबाट पाउनुपर्ने सामाजिक सुरक्षा भत्तालगायतका सेवा पाउनबाट बञ्चित भएका हुन् ।

विहान उज्यालो भएसँगै मावलकी हजुरआमाले घरको सिकुवामा मुढामा राखिदिएपछि साँझ नपरेसम्म उनको सम्पूणर् समय त्यही बित्ने गर्दछ । उमेर १८ बर्ष भए पनि उनी हेर्दा चार/पाँच बर्षका देखिन्छन् । मुखबाट २४ सै घण्टा र्याल चुहिरहन्छ । राम्रोसँग टाउको ठाडो नहुने उनको बोली समेत आउँदैन । उनको हातखुट्टा पनि चल्दैनन् ।

जन्मिएको सात महिनामै उनलाई छाडेर हिँडेका बाबुको हालसम्म अत्तोपत्तो छैन । आमा उनको उपचार खर्च जुटाउन कतारमा छिन् । उनलाई मावलका बृद्ध हजुरबुबा-आमाले हेरचाह गर्दै आएका छन् । मावलमा नै जन्मेका राई शारीरिक असक्त भएका कारण बाबुले मावलमा नै आमासँग छाडेर सम्पर्कबिहीन भए । उनको र परिवारको अहिलेसम्म कुनै अत्तोपत्तो नभएको क्षितिजको मावलका हजुरबुबा कुमार लिम्बू बताउँछन् ।

‘ज्वाइँको हालसम्म अत्तोपत्तो छैन । हामीले धेरै प्रयास गर्यौँ । छोरीको नामबाट नातीको जन्मदर्ता बनाउन । तर, अझै पनि वडा कार्यालयले नातीको जन्मदर्ता बनाइदिएको छैन,’ कुमारले दुःखेसो पोखे ।

धेरै पहलपछि वडाले अपांग भएको कार्डका लागि सिफारिस दियो । मेचीनगरले रातो कार्ड पनि बनाइदियो । तर, जन्मदर्ता नभएकै कारण क्षितिजले रातो कार्ड भएर पनि अपांगता भत्ता पाउन नसकेको छिमेकी देबु बानियाँ बताउँछन् ।

आमाको नागरिकताबाट सन्तानले जन्मदर्ता, नागरिकता लगायतका अन्य सरकारी कागजात बनाउन पाउने अधिकार राज्यले दिएको छ । तर, क्षितिजले बाबु बेपत्ता भएकै कारण जन्मदर्ता नपाउनु दुखद् भएको सञ्चारकर्मी समेत रहेका बानियाँ बताउँछन् ।

यता, वडा कार्यालयले भने आफुहरुले सक्नेजति गरिरहेको प्रतिक्रिया दिएको छ । बाबु बेपत्ता, आमाको माइतीपट्टिबाट नागरिकता रहेका कारण क्षितिजको जन्मदर्ता बनाउन समस्या भएको जनाएको छ । मेचीनगर-३ का वडाध्यक्ष हर्क बस्नेतले नागरिकताको लागि वडा कार्यालयको तर्फबाट जिल्ला प्रशासन कार्यालयलाई सिफारिस लेखिदिने बताए ।

आवश्यक समन्वय गरी दुःख पीडामा रहेका आफ्ना नागरिकलाई सहयोग पुर्याउनु पर्नेमा विभिन्न बहाना बनाएर नागरिकले पाउनुपर्ने अधिकार हनन् गर्नु दुखलाग्दो बिषय हो । त्यसैले सम्बन्धित निकायले यथाशीघ्र आवश्यक समन्वय गरी पीडित राईलाई राज्यले प्रदान गरेको सेवा उपलब्ध गराउने वातावरण सिर्जना गर्नुपर्ने देखिन्छ ।