राजनीति

निर्वाचनपछि एमालेले एकल बहुमतको सरकार बनाउँछः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि एमाले एक्लैले केन्द्रमा एकल बहुमतको सरकार बनाउन सक्ने बताएका छन् ।

शुक्रबार एमाले प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले काम गर्न दुई तिहाई बहुमत आवश्यक भएको तर दुई तिहाइ बहुमत ल्याउन सक्ने सम्भावना नरहे पनि बहुमत मात्र ल्याउन सक्ने बताएका हुन् ।

‘‘तत्काल दुई तिहाइको सम्भावना छ भन्ने मलाई लाग्दैन’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘अहिले हामीले दुई तिहाई प्राप्त गर्ने सम्भावना छैन ।’ उनले अहिले इमान्दार प्रयासलाई संगठित र योजनावद्ध ढंगले अगाडि बढाउन सके बहुमत प्राप्त गर्न सक्ने बताए ।

‘अहिलेको सम्भावना भनेको इमान्दार प्रयासलाई संगठित ढंगले, योजनावद्ध ढंगले अगाडि बढायौ भने बहुमत प्राप्त गर्न सक्छौ’, ओलीको भनाइ छ । अध्यक्ष ओलीले केन्द्रमा र प्रदेश सरकारमा बहुमत प्राप्त गर्नुपर्ने भन्दै स्थानीय तहमा भएको क्षतिलाई केन्द्र र प्रदेश निर्वाचनबाट भरपूर गर्नुपर्ने बताए ।

‘केन्द्रमा हामीले एकल बहुमतको सरकार गठन गर्नुपर्यो,वामपन्थी सरकारमा पुगे भने गैरवामपन्थीहरु वामपन्थी सरकार ढाल्ने अभ्यासमा लाग्छन्’, ओलीको भनाइ छ ।