संघ \संस्था

गोर्खा सम्मेलनको तयारीसहित रजिष्ट्रेशन धमाधम हुँदै

बाहुण्डाँगी । यहि भदौ ३ र ४ गते हुने क्षेत्र ख सम्मेलनको तयारी धमाधम भइरहेको छ । सम्मेलनका लागि शाखाको रजिष्ट्रेशन समेत भइरहेको छ । १५ दिन अघिबाट खुल्ला गरिएको प्रि रजिष्ट्रेशनमा शाखाहरुले सहभागि संख्यासहित दर्ता गरिरहेका शाखाका निवर्तमान अध्यक्ष प्रविन बस्नेतले बताउनु भयो । सम्मेलनका लागि सहभागि जेसीज कर्मीहरुका लागि कुनै कुरामा अभाव नहोस भन्ने उदेश्यले हरेक उपसमितिले काम गरिरहेका छन् ।
गोर्खा जेसीजको आतिथ्यतामा हुने सम्मेलनमा क्षेत्र ख का ३९ वटा शाखाका करिब ५ सय जेसीजकर्मीहरुको सहभागिता रहने सम्मेलनमा सहभागि हुन आउने सदस्यहरुका लागि कुनै कुरामा कमि नहोस भन्ने उदेश्यले शाखाले तयारी धमाधम गरिरहेको हो ।
सम्मेलन आउन करिब ११ दिन बाँकी रहँदा सम्मेलनको करिब ५० प्रतिशत काम सम्पन्न भएको शाखाका अध्यक्ष शैलेन्द्र भट्टले बताउनु भयो । उहाँका अनुसार दाताहरुसँग आर्थिक सहयोग संकलन, प्रचारप्रसारका काम भइरहेको र सम्मेलन स्थललाई केही दिनदेखि तयारी गर्ने बताउनु भयो । गोर्खा आफैमा ऐतिहासिक र धार्मिक जिल्ला हो, यहाँ हुन लागेको सम्मेलनलाई ऐतिहासिक बनाउनु हाम्रो कर्तव्य भएकाले यस क्षेत्रमा भएका सबै शाखाहरुको उत्तिकै जिम्मेवारी भएको बताउनु भयो ।

यो भन्दा अघि ३ वटा क्षेत्रीय सम्मेलन उत्कृष्ट रुपमा सम्पन्न गरेको गोर्खा जेसीजले यो सम्मेलनलाई अझ उचाइमा लैजाने तयारीका साथ लागेको निवर्तमान अध्यक्ष प्रविण बस्नेतले बताउनु भयो । सन १९९३, १९९८ र २०११ मा सम्मेलनको आतिथ्यता गरिसकेको नि. अध्यक्ष बस्नेतले बताउनु भयो ।

सम्मेनलका लागि १५ वटा उपसमिति निर्माण गरिएको छ । मिलनसिंह बस्नेतलाई अर्थ संकलन, अतिथि सत्कारमा प्रविण बस्नेत, कार्यक्रम समुद्घाटनमा सुजित क्षेष्ठ, खाना व्यवस्थापनमा सोम श्रेष्ठ, आवासमा दिनेश दानी, किट व्यागमा सुमन गुरुङ, स्मारिका तथा प्रचारमा बुद्धि जोगी, मनोरञ्जनमा निरज कडेल, स्वास्थ्यमा संगमबाबु श्रेष्ठ, नगर श्रृगारमा रुबेन कुँवर, यातायातमा ऋषी श्रेष्ठ, स्वयमसेवकमा प्रमोदजंग बस्नेत, रजिष्ट्रेशन राजेश श्रेष्ठ र शान्ति पदयात्रामा अस्बिन ढुङ्गानालाई जिम्मेवारी प्रदान गरिएको क्षेत्र ख का उपाध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिनु भयो । सम्मेलनका लागि भगवानबाबु मास्केलाई निर्देशकको जिम्मेवारी प्रदान गरिएको छ ।
यस अघि सम्मेलनको तयारीका बारेमा जानकारी लिन क्षेत्र ख का निरुपित कार्यकारीणी उपाध्यक्ष सुनिल तिम्सिना, गोर्खा जेसीजका लागि निरुपित उपाध्यक्ष रश्मि बस्नेत र क्षेत्र ख का उपाध्यक्ष कृष्ण श्रेष्ठ सम्मेलन तयारीका लागि गोर्खा पुगेका थिए ।