झापा । आज साउन महिनाको अन्तिम सोमबार । झापाको अर्जुनधारा जलेश्वरधामलगायतका शिवालयहरुमा दर्शनार्थीको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका श्रद्धालुहरुले आज विधिपूर्वक ब्रत समाप्त गर्ने गर्दछन् ।

साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले पनि यस दिन श्रद्धालुहरु ब्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् । यसै क्रममा आज झापाको अर्जुनधारा जलेश्वरधाममा हजारौं भक्तजनको घुइँचो लागेको छ ।
पूर्वको पशुपती नाथको रुपमा परिचित अर्जुनधारा जलेश्वरधाममा भगवान शिवको पूजा आराधना गर्न झापा, मोरङ्ग, सुनसरी, इलामलगायत नेपालको विभिन्न जिल्लासंगै छिमेकी मुलुक भारतलगायतबाट पनि दर्शनार्थीको भिड लाग्ने गरेको छ ।
साउनको सोमबार शिवको पूजा आराधना गरी ब्रत बस्दा आफ्नो मनोकांक्षा पूरा हुने विश्वासका साथ श्रद्धालुहरु शिवालय आएको बताउँछन् ।

हिन्दु धर्म मान्नेहरुले साउन महिनालाई विशेष महत्वको रुपमा लिदै शिव मन्दिरमा गई पूजा आरधाना गर्ने चलन सदियौंदेखि चलि आएको छ । यसै मान्यतालाई निरन्तर्ता दिदै अन्तिम सोमबार भगवान शिवको पूजा आरधना गर्न अर्जुनधारा जलेश्वरधाम आएका दर्शनार्थीहरु सुरक्षा निकाय नेपाल प्रहरी, शसस्त्र र धाम व्यवस्थापन समितिको बेवस्थाको कारण अनावश्यक घण्टौंसम्म लाइन बस्नु परेको बताउँछन् ।
झापाका मुख्य गरेर अर्जुनधारा जलेश्वरधामसहित, साताक्षीधाम, कनकाई माई, धनुश्कोटी, मेचीनगरको पातालगंगा शिवालय मन्दिर, दमकको पशुपति मन्दिर, शनिश्चरेको डाङग्रे बाबा धाम, बाह्रदशीको साधुकुटी, लगायतका शिवालयहरुमा दर्शनार्थीको बाक्लो भिड लागेकोे छ ।
कोरोना संक्रमण अझै निर्मुल भइनसकेको अवस्थामा खुलेआम बिना मास्क सामान्य स्वास्थ्य मापदण्ड समेत नअपनाई विभिन्न क्षेत्रबाट दर्शनार्थीको बाक्लो भिड लाग्नुले कोरोनाको जोखिम बढाएको जानकारहरु बताउँछन् । यसरी भिडभाड हुने सार्वजनिक स्थलमा अनिवार्य मास्क र सामान्य स्वास्थ्य मापदण्ड मात्रै अपनाउन सकिएको भए पनि कोरोना त्रास कम हुने उनीहरुको भनाई छ ।

