मेचीनगर । मेचीनगर नगरपालिका–९ बालुवाटारस्थित दुना टपरी फ्याक्ट्रीमा आगलागी भएको छ । फ्याक्ट्रीमा आगो लाग्दा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सुपारीको पातबाट दुना टपरी बनाउने लिप प्लस प्रालिमा गएराति आगलागी हुँदा मेशिन, औजार र तयारी सामान जलेर नष्ट भएको छ ।
फ्याक्ट्रीमा मध्यरातको १२ :५० बजे सुरु भएको आगलागी बिहान २ :४० बजे नियन्त्रणमा आएको प्रहरी कार्यालयका डीएसपी वसन्त पाठकले जानकारी दिए । इलाका प्रहरी कार्यालय धुलाबारी, स्थानीयवासी, मेचीनगर, कमल, बिर्तामोड, भद्रपुर र दमक नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको उनले बताए ।
आगलागीको कारण भने खुल्न नसकेको उनको भनाई छ ।

