धुलाबारी, १ पुस । प्याब्सन मेचीनगरले आयोजना गरेको प्रतिस्पर्धात्मक साँस्कृतिक कार्यक्रममा मेचीनगर–९ स्थित होलिवेल इंग्लिस सेकेन्डरी स्कूलले लगातार पहिलो स्थान बनाउन सफल भएको छ ।
प्याब्सनले हरेक वर्ष साँस्कृतिक कार्यक्रम गर्दै आएको छ । हालै सम्पन्न गीत तथा नृत्य प्रतियोगितामा होलिवेलले गायनतर्फ जुनियर र सिनियर दुवैमा पहिलो स्थान बनाएको हो भने नृत्यको सिनियर विधामा पनि पहिलो भएको होलिवेल स्कूलका इन्चार्ज सुरज कार्कीले बताए ।

प्याब्सनको साँस्कृतिक प्रतियोगिता अन्तर्गत गायनतर्फ होलिवेलका आयु सिवा ९कक्षा–१०० र कक्षा–६ की अपर्ना पाण्डे प्रथम भएका हुन् भने नृत्यमा प्रभा बागदास पहिलो भएको विद्यालयका संस्थापक अमृता प्रधानले बताइन् । उपाधि जितेसँगै होलिवेलले ट्रफी, मेडल तथा प्रमाण पत्र प्राप्त गरेको छ ।

होलिवेलको यो जीत पहिलो होइन । यसअघिका साँस्कृतिक प्रतियोगितामा पनि उक्त स्कूल प्रथम हुँदै आएको छ । यस अघिका लगातार चार वर्ष होलिवेलले अपराजित पहिलो स्थान बनाउन सफल भएको विद्यालयका प्रिन्सिपल अरिस्ता प्रधानले बताइन् । उनका अनुसार विद्यार्थीको कडा मेहनत र विद्यालयको सफल व्यस्थापनका कारण उपाधि हात पार्न सकिएको हो ।

प्रतियोगितामा पहिलो स्थान बनाउन सफल विद्यालयका विद्यार्थीले अब जिल्लास्तरीय प्रतिस्पर्धा गर्नेछन् । प्याब्सनको जिल्लास्तरीय प्रतियोगिता यही पुस २४ गते बिर्तामोडमा हुने प्याब्सन मेचीनगर अध्यक्ष डम्बर रुचालले बताए । मेचीनगरमा भएको प्याब्सनको साँस्कृतिक प्रतियोगितामा २५ विद्यालयका विद्यार्थी सहभागी थिए ।

अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा अब्बल होलिवेल स्कूल मेचीनगरकै उत्कृष्ट मध्येको एक मानिन्छ । विद्यालयले जितको खुसीयालीमा शुक्रवार धुलाबारीमा र्याली निकालेको छ । धुलाबारी बजार क्षेत्र परिक्रमा गरिएको विद्यालयले जनाएको छ ।




