बाहुण्डाँगी । नेपाल जेसीजको ४९ औँ राष्ट्रिय महाधिवेशन विहिवारबाट विरगञ्जमा सुरु हुँदैछ । विरगञ्ज जेसीजको आतिथ्यतामा हुने महाधिवेशनमा सहभागि हुन देशभरका जेसीजकर्मीहरु विरगञ्ज आउने क्रम सुरु भएको छ । महाधिवेशनमा १७४ वटा शाखाका करिब २ हजार प्रतिनिधिको सहभागिता रहने महाधिवेशन महासचिव तथा विरगञ्ज जेसीजका निवर्तमान अध्यक्ष रञ्जन रावतले बताउनु भयो । उहाँका अनुसार महाधिवेशनका लगभग सबै तयारी पुरा भइसकेको र केही काम अन्तिम अवस्थामा पुगेको बताउनु भयो ।
होटल विश्वमा हुने महाधिवेशनको उद्घाटन कार्यक्रम खुल्ला मञ्चमा हुने र तालिमहरु होटलका हलमा हुने महाधिवेशन निर्देशक गोपाल कडियाले बताउनु भयो । महाधिवेशनको उद्घाटन मधेश प्रदेशका मुख्य मन्त्री लालबाबु रावतले गर्ने कार्यक्रम तय भएको छ ।
यो महाधिवेशन विरगञ्जका लागि चौथो महाधिवेशन हो । १९७९ पहिलो पटक महाधिवेशन गरेको थियो । त्यसको ११ वर्ष पछि पुन १९९० मा दोस्रो महाधिवेशन गर्ने अवसर पाएको थियो । १८ वर्षपछि सन २००८ मा तेस्रो महाधिवेशन उत्कृष्ट रुपमा सम्पन्न गरेको शाखाले आफ्नो स्वर्ण महोत्सवको अवसरमा अर्काे महाधिवेशन गर्ने अन्तिम तयारीमा रहेको निर्देशक केडियाले बताउनु भयो ।

