खेलकुद

भद्रपुर झापा गोल्डकपको तयारी तिब्र, विजेताले १३ लाख पाउने

झापा । भद्रपुर झापा गोल्ड कपको पहिलो संस्करण यही फागुन ७ गतेदेखि हुने भएको छ ।

प्रतियोगिताको मिति नजिकिँदै जाँदा अहिले भद्रपुर झापा गोल्ड कप मुल आयोजक समितिले तयारीलाई तिब्रता दिइरहेको छ ।

बिगत १८ बर्ष यता राष्ट्रिय स्तरकाे कुनैपनि फुटबल प्रतियोगिता हुन नसकेको मेची रंगशाला भद्रपुरमा यहीँ फागुन ७ गतेदेखि १६ गतेसम्म अन्तराष्ट्रिय स्तरकाे भद्रपुर झापा गोल्ड कप २०७९ सञ्चालन गर्ने तयारी गरेको हो ।

अहिले प्रतियोगिताका लागि खेल मैदानको स्तरोन्नति तीव्र रुपमा भइरहेको छ । त्यस्तै, प्यारपिट र भवनको रंगरोगन कार्य पनि सुरु भएको छ ।

गोल्डकप आयोजक समितिका अध्यक्ष दिपेश ढकालले काठमाडौँबाहिर सबैभन्दा बढी फुटबलको गतिविधि हुने जिल्लाको रुपमा रहेको झापाको पुरानो मेची रंगशालालाई पुनर्जीवन दिन गोल्ड कप आयोजना गर्न लागिएको बताए। उनले जिल्लालाई फुटबलको हबको रुपमा विकास गराउन भद्रपुर झापा गोल्डकप आयोजना गरिएको जानकारी दिए ।

गोल्ड कपका महासचिव जीवनकुमार श्रेष्ठका अनुसार भद्रपुर झापा गोल्डकपको विजेता टिमले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ तथा ट्रफी र मेडल पाउने छन् ।

त्यस्तै, प्रतियागिताभरिको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख एक हजार रुपैयाँ, ट्रफी र मेडल प्रदान गरिनेछ ।

प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, फरवार्ड र उत्कृष्ट प्रशिक्षकले २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगितामा आयोजकको भद्रपर ११ सहित नेपालका ७, भारत र भूटानका तीन गरी १० वटा टिमको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागी हुने स्वदेशी टिमको टुंगो केही दिनमै लगाइने सचिव टहलदाश मैनालीले जानकारी दिए ।

प्रतियोगिता सञ्चालनको लागि एक करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । गोल्ड कपको संरक्षकको रुपमा रहेको भद्रपुर नगरपालिकाले प्रतियोगिताका लागि ३० लाख रुपैयाँ उपलब्ध गराउनेछ ।