अर्थ

किसानले फ्याँके बिर्तामोडको मुक्ति चोकमा अण्डा र कुखुरा

झापा । उचित बजार मूल्य नपाएको भन्दै झापाका किसानले बिर्तामोडको मुक्ति चोकमा अण्डा र कुखुरा फालेर विरोध प्रदर्शन गरेका छन् । मंगलबार उचित बजार नपाएको भन्दै झापाका किसानहरुले अण्डा र कुखुरा सडकमा फालेर विरोधसँगै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

किसानहरुले हजारभन्दा बढी कुखुराहरु सडकमा फालेका थिए भने, उचित बजार मूल्य पाउनु पर्ने माग पनि गरेका थिए । सरकारले कृषि कर्मममा लागेका किसानहरुको मर्म नबुझेको भन्दै बाध्य भएर आफूहरु सडकमा उत्रिनु परेको उनीहरुको दुःखेसो छ ।

हाल बजारमा एउटा अण्डाको मूल्य रु १५ रहेको छ । किसानहरुले एउटा अण्डा उत्पमदन गर्न रु ११ दशमलव २० पैसा खर्च हुने गर्दछ । तर, बिचौलियाले रु ८ नाफा माग्ने गरेको किसानहरु बताउँछन् । उनीहरु दुखेसो गर्छन् । ‘ऋणको ब्याज बढेर तनाव छ, विहानैबाट बैंकको फोन आउँछ । नाफा जति सबै बिचौलियालाई ठिक्क छ ।’

सरकारले किसानहरुको समस्याप्रति चासो नदेखाए पछि यो आन्दोलन गरिएको किसानहरुले बताएका छन् । उनीहरु भन्छन् ‘चार प्रतिशतमा लिएको कृषि कर्जा नौ प्रतिशतको भइसकेको छ तर सरकार किसानलाई जोगाउन पहल गर्दैन । हामीप्रति सरकारलाई चासो नभएकाले सरकारको ध्यानाकार्षण गराउन यो आन्दोलन गरेका हौं ।’

सम्बन्धित पक्ष तथा सरोकारवालाहरुले व्यवसायिहरुको माग सम्बोधन नगरे थप आन्दोलनमा जाने उनीहरुको भनाइ रहेको छ । केही दिन अघि चितवनमा तरकारी उत्पादकहरुले सडकमा हरियो तरकारी फालेका थिए । करोडौ रुपैया लगानी भइसकेको कारण यो व्यवसायबाट निस्किने कुनै अवस्था पनि नभएको तथा यहि व्यवसायमा टिकिरहने अवस्था पनि नरहेको कारण साहाराको लागि समेत यो आन्दोलनलाई सरकारले चासोका साथ हेरिदिनुपर्ने झापाका कुखुरा उत्पादक÷व्यवसायी बुद्धिमान तामाङ्ग बताउँछन् ।

हाल झापामा लेयर कुखुरा पाल्ने र अण्डाको उत्पादन गर्ने करिब ४० वटा फर्महरु रहेका छन् । उनिहरुले दैनिक ३० हजार अण्डा उत्पादन गरिरहेका छन् । लेयर कुखुरा अण्डा दिने बयस्क हुने बेलासम्ममा धेरै लगानी गरिसकेको हुने र घाटामा अण्डा बेच्नुपर्ने बाध्यता उत्पादकहरुमा रहेको छ ।

देशका लगानिकर्ताहरुको उत्पादन प्रवर्धन तथा बजारको व्यवस्थापन गरे नेपालमा उत्पादिन अण्डाबाटै निर्भर हुने अवस्था आउँछ । व्यवसायिहरुको मागको उचित सम्बोधन गर्दै हरियो तरकारी तथा अण्डा उत्पादक व्यवसायिहरुलाई प्रोत्साहन गर्न सम्बन्धित निकायको ध्यान जान आवश्यक देखिन्छ ।