खेलकुद

नेपाल भारतका चर्चित क्लब बिच ईण्डो नेपाल भेट्रान फुटबल प्रतियोगिता हुँदै

मेचीनगर । काँकरभिट्टामा यहीँ फागुन २७ गतेदेखि ईण्डो नेपाल भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । काँकरभिट्टा भेट्रान फुटबल क्लबले आयोजना गर्ने सो प्रतियोगिता काँकरभिट्टा माविको खेल मैदानमा हुने छ ।

शनिबारदेखि चैत ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका १० चर्चित भेट्रान क्लबहरु बिच प्रतिष्पर्धा हुने बुधबार पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको छ ।

यस अघि २०७२ र २०७४ मा सफलता पूर्वक प्रतियोगितामा सम्पन्न गरिसकेको काँकरभिट्टा भेट्रान क्लबले तेस्रो संस्करण सम्म आइपुग्दाप्रतियोगिताको सह आयोजकमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर तथा संरक्षकमा मेचीनगर नगरपालिका रहेको छ ।

प्रतियोगितामा नेपालका ६ र भारतका ४ गरी १० टिमको सहभागिता रहने छ । झापासँगै बुटवल, काठमाण्डौं, सुनसरी, मोरङ तथा भारतको कोलकाता, आसाम र सिलिगुडीका भेट्रान क्लब सहभागी हुने छन् । प्रतियोगिताको विजेताले नगद २ लाख तथा उपविजेताले नगद १ लाख प्राप्त गर्नेछ । होटेल किङ्ग्सबरी बिर्तामोडले मुख्य प्रायोजन गरेको प्रतियोगिताको दोस्रो पुरस्कार राशी १ लाख रुपैयाँ काँकरभिट्टाका सजित तामाङले गरेको आयोजकले जनाएको छ ।

हरेक खेलको उत्कृष्ट खेलाडीले ३ हजार, बिधागतरुपमा उत्कृष्ट खेलाडीले प्रतिखेलाडी रु ५ हजार, प्रतियोगिता भरमा उत्कृष्ट हुने एकजनाले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष गंगालाल गुरुङले बताए । साथै उनले प्रतियोगिता निशुल्क हेर्ने व्यवस्था गरिएको बताए ।

पत्रकार सम्मेलनमा झापा जिल्ला फुटबल संघ अध्यक्ष भगिरथ आले, मेचीनगर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, क्लवका सल्लाहकार एवम् झापा जिल्ला खेलकुद विकास समिति पुर्व अध्यक्ष शंखर थापा, उपाध्यक्ष राजु पौडेललगायतले बोलेका थिए ।

क्लबका अध्यक्ष गंगालाल गुरुङको अध्यक्षतामा आयोजना भएको कार्यक्रम सञ्चालन महासचिव शेरबहादुर बस्नेत (सुन्दर) ले गरेका थिए ।