समाचार

प्रदेश नामाकरण खारेजीको मागसहित आव्हान गरिएको बन्दको झापामा आंशिक प्रभाव

झापा । कोशी प्रदेश नामाकरण खारेजीको मागसहित आव्हान गरिएको बन्दको झापामा आंशिक प्रभाव परेकाे छ ।

गत फागुन १७ गते प्रदेश १ लाई कोशी प्रदेश नामकरण गरिएसंगै त्यसको विरोधमा राजनीतिक दल र जातीय संगठनहरु उत्रिएका हुन् । छ वटा राजनीतिक दल र ३४ वटा जातीय संगठनले शनिवार साँझ झापाको बिर्तामोडमा कोशी प्रदेश खारेजीको माग गर्दै राँके जुलुस प्रदर्शन गरेका थिए ।

राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बुवान पार्टी नेपाल, कोचिला संघर्ष समिति, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, लिम्बुवान राष्ट्रिय समिति लोसपा र किराँत लिम्बुवान प्रदेश नामांकन अभियानबीच हिजो पार्टी एकीकरण भएसंगै आन्दोलनका कार्यक्रम अघि बढाएका छन् ।

त्यस्तै कोशी प्रदेश खारेजीको लागि प्रदेश नं.१ पुनः नामांकन संयुक्त संघर्ष समितिले पनि आज प्रदेश बन्दको घोषणा गरेको छ । जसका लागि नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीको संयोजकत्वमा संघर्ष समिति तयार गरिएको थियो ।

त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मंचको लिम्बुवान भोलेन्टियर्सले पनि आज बन्दको आव्हान गरेको छ । बन्दका कारण यातायातका साधनहरु आंशिक रुपमा चलेका छन् । विद्यालय, क्याम्पस र बजार खासै खुलेका छैनन् ।