झापा । नेकपा एमालेका केन्द्रीय सल्लाहकार तथा पूर्व पोलिटब्युरो सदस्य नरेश खरेलले पार्टी परित्याग गरेका छन् ।
सोमबार पत्रकार सम्मेलन गर्दै नेता खरेलसहित नेकपा एमालेको विभिन्न जिम्मेवारीमा रहेका हिराप्रसाद पोखरेल, खिना राना मगर, कल्पना पोखरेल, गेहराम भट्टराई, अरुण पोखरेल, महानन्द सहा, भीमप्रसाद लुइँटेलले पार्टी परित्यागको घोषणा गरेका छन् ।
एमाले परित्याग गर्ने क्रममा नेता खरेलले अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारिताका कारण अन्य धेरै नेता कार्यकर्ताहरुले पार्टी छोड्ने दाबी गरे । उनले आफ्नी श्रीमती पवित्रा निरौला खरेल अहिले अस्ट्रेलियामा रहेकाले त्यहाँबाट फर्केपछि पार्टी छोड्ने विषयमा सल्लाह हुने बताए । खरेल झापा विद्रोहका एक हस्ती हुन् । जसले १६ वर्ष ६ महिना जेल जीवन बिताएका थिए । दुई वर्ष भूमिगत जीवन पनि ।
उनी बराबर जेल जीवन बिताएका घनेन्द्र बस्नेत चाहिँ उति बेला नै एकीकृत समाजवादीतिर लागे । एमालेमै रहने मनसाय बनाएका ६९ वर्षीय खरेल चाहिँ एमाले केन्द्रीय समितिमा अटाएनन् ।
खरेल २०७० मा एक पटक संविधानसभा सदस्यसम्म भए । त्यसभन्दा बढी आफूलाई सुविधाको पद नमिलेको उनले गुनासो गर्दै आएका थिए । तर, उनकी श्रीमती पवित्रा निरौला खरेल यसअघिको प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नं २ बाट सदस्यमा निर्वाचित भएकी थिइन् । ‘नेतृत्व आफ्ना गल्ती कमजोरी सुधार गर्दै पार्टीलाई एकताबद्ध पार्नुको सट्टा अझ निरङ्कुश बन्ने र फरक मत राख्ने नेता कार्यकर्तामाथि अपमान गर्ने काममा तल्लीन भयो । पार्टीमा इमानदार नेता कार्यकर्ताहरूलाई पाखा लगाउने र दक्षिणपन्थी र यथास्थितिवादी शक्ति र व्यक्तिसँगको साँठगाँठ अझ दरिलो बन्दैछ ’ उनले भने ,‘यस्ता गतिविधिहरू टुलुटुलु रमिता हेर्न हामीले उचित ठानेनौ ।
त्यसैले एमालेमा लामो समयसम्म योगदान गरेका तर पार्टीका गलत क्रियाकलापसँग असहमत रहेका हामी नेता कार्यकर्ताहरू आजदेखि सो पार्टीबाट स्वतन्त्र रहने घोषणा गर्दछौँ ।’ खरेलले पार्टी छाड्नु अघि नै एमालेका भक्त लामिछाने र राजकुमार राजवंशीले पार्टी छोडिसकेका थिए । गत फागुन १९ गते नेकपा एमाले जिल्ला कमिटी झापाकी उपसचिव तथा भद्रपुर नगरपालिकाका पूर्व उपप्रमुख चन्द्रा श्रेष्ठले पनि पार्टी परित्याग गरिसकेकी छिन् । श्रेष्ठसँगै प्रदेश कमिटी सदस्य पदम थापा, ३ नं क्षेत्रीय सदस्य सज्जाद आलम र हवालोदिन मियाले पनि एमाले परित्याग गरिसकेका छन् ।

