काठमाडौं । बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मदन राई पक्राउ परेका छन्। आफूलाई कृषिविज्ञका रुपमा चिनाउँदै आएका खोटाङका ७५ वर्षीय मदनले खोलेको फाउन्डेसनमा राखिएका बालबालिकालाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएसँगै उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक मञ्जिल मुकारूङले राईलाई उनीद्वारा सञ्चालित ‘शुभद्रा मदन फाउन्डेसन’बाटै पक्राउ गरिएको बताए।
राईलाई अहिले जिल्ला प्रहरी कार्यालय खोटाङको हिरासतमा राखिएको छ। राईले फाउन्डेनमा पढाउन भनेर राखिएका बालबालिकालाई यौन दुर्व्यवहार गरेको भिडिओसहितको स्टोरी बिहीबार सेतोपाटी अनलाइनले सार्वजनिक गरेको थियो। शुभम फाउन्डेसनभित्र भएको उक्त घटना सार्वजनिक भएलगत्तै उनलाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको हो।
फाउन्डेसनका संस्थापक राईले पढाउन भनेर राखिएका बालबालिकाको संवेदनशील अंग चलाउने, शारीरिक सम्पर्कका लागि उक्साउने, आफ्नो शरीरका गोप्य अंग छुन लगाउने, आफू नग्न भएर विद्यार्थी सामु आपत्तिजनक हर्कत गर्दै आएका खुलेको छ।
उक्त फाउन्डेसन खोटाङ सदरमुकाम दिक्तेलस्थित जनजागृति उच्च माध्यमिक विद्यालयमा चल्दै आएको छ। राईले स्कुलको अनुमति लिएर नौ वर्षअघि उक्त फाउन्डेसन खोलेका थिए। उनले उक्त फाउन्डेसनका विद्यार्थीलाई त्यहीँ आवासीय होस्टेल बनाएर राख्दै आएका थिए।

