संघ \संस्था

कवि नवराज पराजुलीको बाहुण्डाँगीमा ‘कविता कन्सर्ट’ हुने

मेचीनगर । बाहुण्डाँगीमा कवि नवराज पराजुलीको एकल कविता कन्सर्ट आयोजना हुने भएको छ । बाहुण्डाँगी जेसीजको आयोजनामा गणतन्त्र दिवशको अवशर पारी जेठ १५ गते कवि पराजुलीको कविता कन्सर्ट आयोजना हुने भएको हो ।

स्थानीय साहित्यलाई समेत प्रोत्साहन गरी बाहुण्डाँगीको भुगोललाई साहित्यसगँ जोड्न कविता कन्सर्टको आयोजना गरिएको आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

समसामयिक विषयलाई केन्द्रमा राखेर साहित्यको माध्यमबाट व्यवस्थालाई नै प्रहार गर्न सक्ने प्रख्यात कवि पराजुलीलाई बाहुण्डाँगीमा ल्याउँदा स्थानीय साहित्यलाई समेत टेवा पुग्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै बाहुण्डाँगी जेसीजका अध्यक्ष केवल निरौलाले बताए ।

‘समाज परिवर्तनमा निरन्तर विभिन्न कार्यक्रम गर्दै आएको यस संस्थाले यसपाली भने साहित्यसगँ जोडेर पृथक कार्यक्रम गर्न लागेको हो ।’ उनले भने ‘सम्पुर्णको साथ र सहयोगको अपेक्षा गरेका छौँ ।’

कार्यक्रम सफलताका लागि स्थानीय संघ संस्थाहरुसँगै मेचीनगर २ र ४ नं वडाले समेत सहयोग गर्ने भएको छ । कार्यक्रम आयोजनाका लागि दुई लाख खर्च अनुमान गरिएको पत्रकार सम्मेलनमा बोल्दै जेसीजका पूर्व अध्यक्ष तथा मेचीनगर २ का वडाध्यक्ष दिपक बरालले जानकारी दिए ।

प्रेस क्लब मेचीनगरको कार्यालय इटाभट्टामा आयोजित पत्रकार सम्मेलनमा जेसीजका अध्यक्ष निरौला, पूर्व अध्यक्ष बरालसगैँ, निवर्तमान अध्यक्ष हेमन्त मोक्तानलगायतको उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चालन संस्थाका कार्यक्रम संयोजक देबु बानिँयाले गरेका थिए ।