काठमाडौं । सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रसहित ४ दल सम्मिलित दलले समाजवादी मोर्चा घोषणा गरेका छन् ।

सोमबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा चार दलका शीर्ष नेताहरुले ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गर्दै समाजवादी मोर्चा घोषणा गरेका हुन् ।
समाजवादी मोर्चा घोषणासँगै उनीहरुले हालेमालो गरेर खुसी साटासाट गरे । मोर्चामा माओवादी केन्द्र, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), माधवकुमार नेपालको नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रहेका छन् । तर, उक्त मोर्चामा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई भने अटाएका छैनन् ।
हस्ताक्षर भएको सहमतिपत्रमा १५ वटा उद्देश्य, नीति तथा प्रतिबद्धता उल्लेख गरिएको छ ।