स्वास्थ्य

स्वास्थ्य क्षेत्रमा नागरिकको सहज पहुँच पुर्याउन लागि परेका छौं : नगरप्रमुख बुढाथोकी

मेचीनगर । स्वास्थ्य क्षेत्रमा नागरिकको सहज पहुँच पुर्याउन विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको मेचीनगर नगरपालिकाले पहिलोपटक आधारभूत स्वास्थ्य केन्द्रमा पनि प्रयोगशाला (ल्याव) सेवा शुभारम्भ गरेको छ । योसंगै अब नगरबासीले नगरमा नै पहिलोपटक आधारभूत स्वास्थ्य केन्द्रबाट पनि ल्याव सेवा पाउने भएका हुन् ।

नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले आज एक कार्यक्रमका बिच मेचीनगर ८ स्थित आधारभूत स्वास्थ्य केन्द्र सालघारीबाट ल्याव सेवाको शुभारम्भ गरेका हुन् ।

शुभारम्भ कार्यक्रममा बोल्दै नगरप्रमुख बुढाथोकीले प्राथमिक स्वास्थ्य वाड वाडमा पुर्याउने आफ्नो लक्ष्य रहेको बताए । नगरका कुनैपनि नागरिक प्राथमिक सेवाबाट वञ्चित हुन नपरोस भन्ने उद्देश्यका साथ वडा मै प्रयोगशलाको शुभारम्भ गरेको बताए । उनले अब वडामै प्रयोगशाला सेवा सञ्चालन भएसंगै टाढा टाढा गएर रक्त परीक्षण गर्ने समस्याबाट वडावासीले छुटकारा पाउने बताए ।

मेचीनगरको आर्थिक सहयोगमा आधारभूत स्वास्थ्य केन्द्रबाट प्रयोगशाला सञ्चालन भएसंगै अब वडाबाट नै सिबीसी, एचबी, सुगर, विलिरुविन, दिशा पिसाव, एचआईभि, मलेरिया, डेंगु, भिडिआरएल, यूरिया क्रिटिनाईनलगायतका रक्त परिक्षण हुने नगरपालिका स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौलाले जानकारी दिइन् । त्यस्तै वडामै सर्वसुलभ मूल्यमा प्रयोगशालासहितको सेवा उपलब्ध गराएपछि आफूहरूलाई स्वास्थ्य सेवा लिन सहज भएको स्थानीय वडाबासी बताउँछन् ।

सुभारम्भ कार्यक्रममा नगर प्रमुख बुढाथोकी, मेचीनगर ८ का वडाध्यक्ष गिरीराज धमला, मेचीनगर स्वास्थ्य शाखा प्रमुख सापकोटा, वडा नं ८ का जनप्रतिनिधि कुन्दन निरौला, विष्णु भट्टराई, कविता खनाल सार्की, मनकुमारी गिरी, आधारभूत स्वास्थ्य केन्द्र सालघारी प्रमुख दिवाकर पौडेललगायतको उपस्थिति रहेको थियो ।