अन्य

अर्जुनधारा जलेश्वर धाममा भक्तजनको घुइँचो

झापा । साउन महिनाको पहिलो सोमबार आज पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वर धाममा भक्तजनको भीड लागेको छ । बिहानैदेखि ठुलो संख्यामा हिन्दुधर्मालम्वी भक्तजनहरू भगवान शिवको पूजा आराधाना गर्न अर्जुनधारा जलेश्वर धाम आएका छन् ।

साउन महिना र सोमबारलाई भगवान् शिवको बारका रुपमा मान्‍ने चलन छ । यसदिन शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास सहित अर्जुनधारा धाम लगायतका शिव मन्दिरहरुमा भक्तजनको भीड लाग्‍ने गरेको छ । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।

अर्जुनधारा जलेश्वर धाममा लाखौँ भक्तजन आउने भएकाले बिहान ४ बजेदेखि नै भक्तजनलाई दर्शन गराइएको समितिले जनाएको छ । नेपालसंगै भारत, भुटानलगायतका देशबाट पनि ठुलो संख्यामा भक्तजनहरू दर्शन गर्न अर्जुनधारा धाम आउने भएकाले सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर,ध खानेपानीलगायतकाे व्यवस्थापन गरिएको समितिले जनाएको छ ।

साउनको सोमबार भगवान शिवको प्रिय हुने विश्वासका साथ अन्य बारको तुलनामा सोमबारको दिन शिवालयहरुमा पूजा गर्ने भक्तजनहरुको बढी घुइँचो लाग्ने गर्छ । झापाको अर्जुनधारा जलेश्वर धाम सहित शताक्षीधाम, कनकाई माई, पाउ पाथिभरा माता, घैलाडुब्बा शिवालय मन्दिर मेचीनगर लगायतका शिवालयहरुमा व्रतालुहरु बिहानैदेखि लामबद्ध भएर पूजा गरिरहेका छन् ।