मेचीनगर । राजनीतिमा युवा नेतृत्व तथा महिला सहभागिताका विषयमा मेचीनगरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसको पूर्वसन्ध्यामा शुक्रबार मेचीनगर महिला सञ्जालले उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा मेचीनगरका विभिन्न विद्यालयका विद्यार्थीले राजनीतिमा युवा नेतृत्व तथा महिला सहभागिताका विषयमा गम्भीरतापूर्वक आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
उनीहरुले आफ्नो धारणा प्रस्तुत गर्दै राजनीति केही व्यक्तिका निजी स्वार्थका कारण फोहोरी खेल बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे । ‘पछिल्ला समय युवाहरु राजनीतिबाट टाढिन खोज्छन्, राजनीति फोहोरी खेल हो भन्ने बुझाई युवाहरुमाझ छाएको छ,’ अन्तरक्रियामा बोल्ने अधिकांश विद्यार्थीको आशय थियो ।

अन्तरक्रियामा बोल्दै विद्यार्थीहरुले ‘अब जनता सचेत भइसके, राम्रो काम गर्नुस् । जनताले मूल्यांकन गर्छन्,’ भनेर जनप्रतिनिधिलाई सुझाव समेत दिएका छन् ।
सञ्जालकी अध्यक्ष तिलजा देवानको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना उप्रेती, मेचीनगर सामाजिक विकास समिति संयोजक हृदय राजवंशी, नेकपा एमाले मेचीनगर अध्यक्ष राजु पोख्रेल, राप्रपा मेचीनगर सचिव विशालकृष्ण बास्तोला लगायतले बोलेका थिए ।

कार्यक्रममा मेचीनगर कार्यपालिका सदस्य कविता खनाल सार्की, रिता थापालगायत नगरमा महिला जनप्रतिनिधिहरूको सहभागीता रहेको थियो ।
मेचीनगर १२ की वडा सदस्य कृष्णमाया बराइलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन कार्यपालिका सदस्य रिता परियारले गरेकी थिइन् ।

