संघ \संस्था

महिलाहरुकै नेतृत्वमा मेचीनगरमा उपभोक्ता जागरण अभियान गठन

मेचीनगर। सम्भवत नेपालमा नै पहिलो पटक निजीस्तरबाट आम उपभोक्ताहरुको हितका लागि मेचीनगरमा महिलाहरुकै नेतृत्वमा उपभोक्ता जागरण अभियान नेपाल झापा शाखा अन्तरगतको पालिकास्तरीय समिति गठन गरिएको छ ।

आज मेचीनगर–६ स्थित काँकरभिट्टामा आयोजित एक भेलाले समाजसेवी महिला नेतृ रचना घिमिरेको नेतृत्वमा ९ सदस्यीय महिलाहरुकै नेतृत्वमा उपभोक्ता जागरण अभियान नेपाल झापा शाखा अन्तरगतको मेचीनगर नगर समिति गठन गरिएको हो ।

अध्यक्ष घिमिरेको नेतृत्वको समितिमा उपाध्यक्ष पनिता अधिकारी ढकाल, सचिवमा निरु परियार, सहसचिवमा दिपा धिताल भट्टराई र कोषाध्यक्षमा मीरा काफ्ले पोखरेल सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा रिता घिमिरे, अनिता गुरागाई, शुष्मा राजबंशी र तारा आचार्य रहेका छन् ।

नजिकिदै गरेको नेपालीहरुको चाडपर्व र सीमा नाकामा राज्यले गरेको कडाईको बहानामा बजारमा खाद्यान्न, तरकारी, फलफूल लगायत दैनिक उपभोग्य वस्तुहरुको अस्वाभाविक ढंगले तस्करी, मूल्यवृद्धि, कृत्रिम अभाव र कालोबजारी भइरहेको जनगुनासो व्यापक बढेको कारण मेचीनगरमा समिति निर्माण गर्न बाध्य भएको उपभोक्ता जागरण अभियान नेपाल झापाका उपाध्यक्ष निलकण्ठ तिवारीले बताए ।

‘समितिमा बस्नु भएका सबै महिलाहरु अब्बल हुनुहुन्छ’, तिवारीले भने–‘राजनीतिक, सामाजिक क्षेत्रमा लाग्नु भएका उहाँहरुको टिमले उपभोक्ताहरुको हितमा काम गर्नुहुन्छ भन्ने पूर्ण विश्वास छ ।’

उनले उपभोक्ता हित विपरीतको धन्धामा लागेका जोकोहीलाई कानूनी कारवाहीको दायरामा ल्याउन र बजार अनुगमन प्रभावकारी रुपमा गर्न तीन तहकै सरकारलाई अनुरोध समेत गरेका छन् ।

अभियानका झापा अध्यक्ष मोहन काजीको अध्यक्षतामा सम्पन्न भेलाको प्रमुख आतिथ्यता माइती नेपाल कोशी प्रदेश इन्चार्ज गोविन्द घिमिरे रहेका थिए ।

भेलामा प्रमुख अतिथि घिमिरे, अध्यक्ष काजी, जिल्ला सदस्य अर्जुन कार्की, नर्वनिर्वाचित नगर समितिकी अध्यक्ष रचना घिमिरे, नर्वनिर्वाचित पदाधिकारी र सदस्यहरुले उपभोक्ताहरुको हितमा स्थानीय सरकार र प्रहरी प्रशासनसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।

अभियानका झापा उपाध्यक्ष निलकण्ठ तिवारीले स्वागत गरेको भेलाको सञ्चालन सचिव विशाल थापाले गरेका थिए ।