समाचार

शरणार्थी, ललिता निवास र सुन काण्डमा निष्पक्ष अनुसन्धान गर्ने हो भने धेरै नेता जेल जान्छन् : रवि लामिछाने

झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिले नक्कली भूटानी शरणार्थी काण्ड, ललिता निवास काण्ड र सुन काण्डमा आँखा चिम्लेर अनुसन्धान गर्ने हो भने देशका धेरै शिर्ष नेताहरू जेल जाने बताएका छन् ।

शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी झापा विर्तामोडको जनसभालाई सम्बोधन गर्दै यी तीनवटै काण्डमा कुनै नेता तथा पार्टीहरु अछुतो नरहेको बताउँदै निष्पक्ष छानबिन गर्ने हो भने, औंलामा गन्ने नेताहरू मात्रै यस काण्डबाट बाँकी रहने उनको भनाई छ । साथै उनले यस काण्डका फायलहरु निष्पक्ष ढंगले खोल्न आफुहरुले सरकारलाई दबाब दिइरहेको बताए ।

बिहिबारदेखि तीनदिने झापा र इलाम दौडाहमा रहेका रास्वपा सभापति लामिछानेले जनसभालाई सम्बोधन गर्दै ३२ बर्ष गल्ती गरेर अबको चार बर्ष त्यस गल्तिलाई लुकाउने दौडमा अन्य पार्टी र त्यसमा आबद्ध नेताहरु लागि परेको आरोप लगाएका छन् । अब जनता जागरुक भइसके क–कस्ले के–के गर्दै छन् त्यो सबैको जनता जानकार छन् ।

विहिबार इलामको फिक्कलमा जनसभा सम्पन्न भइसकेको छ भने, शुक्रबार र शनिबार झापा जिल्लाको विभिन्न क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको जनसभा भइरहेको छ । सभामा सभापति लामिछानेसहित महामन्त्री मुकुल ढकाल, प्रमुख सचेतक सन्तोष परियार, केन्द्रीय सदस्य रमेश प्रसाईं, माननीय मनिष झा, माननीय अशोक कुमार चौधरी, माननीय निशा डाँगीलगायका केन्द्रिय नेताहरुले सम्बोधन गरिरहेका छन् । उनीहरुले अब देश घण्टीमय बन्दै गइरहेको बताउन्दै ८४ मा बहुमत ल्याउने अभियानमा लाग्न आफ्ना सदस्य तथा शुभचिन्तकहरुलाई आग्रह गरेका छन् ।

कार्यक्रममा जिल्लाको विभिन्न स्थानबाट सदस्य तथा शुभचिन्तकहरुको उलेख्य जनसहभागिता रहेको छ ।