समाचार

दाजुभाइ मिलेर गरे सुन्दर किसानको हत्या

झापा । झापा मेचीनगर ८ का ४३ वर्षीय सुन्दर किसानको हत्या आफ्नै बडाको छोरा रामजी किसान र कुकरसिंह किसानले गरेको खुलेको छ । नातामा दाजु पर्ने ५६ वर्षीय रामजी र ४८ वर्षीय कुकरसिंहले सुन्दरको हत्या गरि  घर नजिकैको पैनीमा झाडीले छोपेका थिए । रामजी र कुकरसिंह सहोदर दाजुभाइ हुन् ।

गत बुधवार घर नजिक स्कुलमा फुटबल खेल हेर्न साँझ हिँडेका उनी घर नफर्किएपछि खोजी भएको थियो । उनको लाश बिहिवार बिहान स्थानीय पैनीमा झाडीले छोपेकाे अवस्थामा प्रहरीले फेला पारेपछि घटना रहस्यमय भएको भन्दै थप अनुसन्धान अगाडि बढाएको थियो ।

प्रहरीले उक्त हत्यामा दुई दिन अनुसन्धान गर्दा नाताले दाजु पर्ने रामजी किसान र कुकरसिंह किसानको संलग्नता रहेको तथ्य खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए ।

उनका अनुसार अनुसन्धानका क्रममा स्थानीय १५ जनालाई निगरानी गर्दै सोधपुछ गरिएको थियो । जसमा १३ जनालाई सामान्य सोधपुछ पछि घर पठाइयो थियो । तर, दुई जना भने शव फेला परेको समयमा भारत तर्फ फरार भएको र पछि नेपाल ल्याइ शंकाको घेरामा रहेका थिए । उनीहरू माथि थप अनुसन्धान अगाडि  बढाइएकोमा अन्ततः उनीहरूले हत्या गरेको स्विकार गरेको प्रहरीले जनाएको छ ।

उनले हाल दुबै अभियुक्त प्रहरी हिरासतमा रहेकाे जनाउँदै उनिहरूलाई कर्तव्य जानमार्ने कसुरमा मुद्दा चलाएर कानुनी प्रक्रिया अगाडि बढाउने बताए ।