झापा । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले एशिया कप २०२३ मा नेपालले उत्कृष्ट खेल्ने बताएका छन् । उनले पछिल्लो समय नेपाली क्रिकेटमा उल्लेख्य सुधार हुँदै आएको बताउँदै नेपालको क्रिकेट विकासका लागि अहिले स्वर्णिम समय रहेको उल्लेख गरे ।

सोमबार झापाको काँकरभिट्टामा नेपाल क्रिकेट संघकोे प्रादेशिक संघ कोशी प्रदेशको दोस्रो अधिवेशनलाई संम्बोधन गर्दै प्रतियोगितामा उत्कृष्ट खेल्न सकुन भनेर खेलाडीलाई आवश्यक समन्वय गरिरहेको बताए । खेलाडीले उत्कृष्ट खेलिरहेका भएपनि नेपाली क्रिकेटमा पुर्वाधार विकासले पछि पर्ने गरेको बताए । साथै उनले नेपालमा क्रिकेट खेलको प्रवद्र्धन गर्न सरकार र सरोकारवाला निकायलाई बारम्बार अवगत गराउने काम गरिरहेको बताए ।
कार्यक्रममा राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का, नेपाल उसु संघका कोशी प्रदेश अध्यक्ष कुमार आचार्यलगायतको आतिथ्यता रहेको थियो । प्रादेशिक क्रिकेट संघ कोशी प्रदेशका अध्यक्ष मिङमा ल्यामु शेर्पाको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको स्वागत उपाध्यक्ष नविन घिमिरे र सञ्चालन सदस्य सचिन सुब्बाले गरेका थिए ।
बन्द सत्रमा विभिन्न एजेन्डाका मागसहित पारित भएको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै छ । अध्यक्षमा विप्लव घोष र सवर्जित पाण्डेको उम्मेदवार रहेको छ । कोशीका ५ वटा जिल्ला झापा, मोरंग, सुनसरी, उदयपुर र ईलाम संघका सदस्यहरु सहभागी छन् ।

