मेचीनगर । झापाको मेचीनगर-६ स्थित काँकरभिट्टामा जिल्ला स्तरीय अन्तर क्याम्पस टि-टेन क्रिकेट प्रतियोगिता हुने भएको छ । यहीँ भदौ १५ गतेदेखि काँकरभिट्टा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आयोजना सो प्रतियोगिता सञ्चालन हुने भएको हो ।
भदौ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक काँकरभिट्टा सहित जिल्लाका १६ वटा क्याम्पसले खेल्ने छन् ।

काँकरभिट्टा क्याम्पसमा अध्यनरत गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई अध्ययान गर्न सहयोग पुर्याउने उदेश्यले स्ववियु छात्रवृत्ति कोष स्थापनार्थ प्रतियोगिताको आयोजना गर्न लागिएको काँकरभिट्टा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन सभापति विशाल तामाङ बताउँछन्।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र तथा दोस्रो हुने टिमले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने खेल संयोजक योगेन्द्र खड्का (बरदान) ले जानकारी दिए । उनले प्रतियोगिता आयोजनाका लागि ४ लाख १९ हजार खर्च अनुमान गरिएको बताए ।
प्रतियोगिता सञ्चालन खर्च व्यवस्थापन स्थानीय अग्रज व्यक्तित्व, समाजसेवी तथा विभिन्न संघसंस्थाहरुबाट जुटाउने क्रम चलिरहेको आज पत्रकार सम्मेलन मार्फत आयोजकले जनाएको छ ।

खेल संयोजक बरदानका अनुसार स्थानीय तुर्केनी खेल मैदानमा आयोजना हुने प्रतियोगिताका लागि काँकरभिट्टा ‘क्याम्पसले ८० हजार नगद सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । अन्य रकम स्थानीय संघ संस्थादेखि, अग्रजहरूको सहयोगबाट जुटाउँने उनले बताए ।
प्रतियोगितामा म्यान अफ द म्याच, म्यान अफ द सिरिज, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर, उत्कृष्ट क्याचर लगायतका विधामा समेत खेलाडीले पुरस्कार प्राप्त गर्ने छन् ।

