बिर्तामोड । आर्थिक रुपमा फड्को मार्दै गरेको झापाको बिर्तामोडमा अन्तर्राष्ट्रियस्तरको सुपर मार्केट भाट-भटेनी सुपर स्टोरको उद्घाटन आज हुँदैछ । भाट-भटेनी सुपर स्टोरको उद्घाटन सञ्चालक मीनबहादुर गुरुङले गर्नेछन् ।

२६ औँ शाखाका रुपमा आजदेखि विर्तामोडको भगवान चोकमा सञ्चालनमा आएको भाट-भटेनी स्टोरमा एक लाख २५ हजारका विभिन्न प्रकारका सामानहरु खरिद गर्न पाइने कम्पनीका व्यवस्थापक विनोद भट्टराईले जानकारी दिए । उनले उद्घाटनका समयमा ग्राहकलाई प्रत्येक सामानहरुमा १० देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बताए ।

सुपर मार्केटमा झापा, इलाम जिल्लासहित भारतबाट समेत ग्राहकहरु सपिङ गर्न आउने सञ्चालक मीनबहादुर गुरुङको भनाइ छ । २ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा सञ्चालनमा आउन लागेको बिर्तामोडको भाट-भटेनीमा स्केटिङ पार्क, फुड कोर्ट, दुईवटा सिनेमा हल रहनेछ । सातौँ तल्लासम्म रहेको भाट भटेनी झापाकै ठुलो सुपर मार्केट हो ।


