संघ \संस्था

मेचीनगर-१४ मा झोलुङ्गे पुल बनेपछि स्थानीयबासी हर्षित

मेचीनगर । बर्षौदेखि पुल नहुँदा समस्या झेल्दै आइरहेका झापाको मेचीनगर नगरपालिका–१४ स्थित पत्रेसिंह बारीका बासिन्दा अहिले भने झोलुङ्गे पुल बनेपछि हर्षित भएका छन् ।

पुल नहुँदा समस्या भोग्न बाध्य यहाँका स्थानीय वर्षात्को समयमा आफ्नै वडा कार्यालय पुग्न पाँच किलोमिटर घुमेर जानु पर्ने बाध्यता थियो । पत्रेसिंह बारीका करिब पाँच सय घर परिवारलाई खोलाका कारण दुहागढीमा रहेको विद्यालय तथा वडा कार्यालय पुग्न वडा नंं.१० को धुलाबारी हुँदै घुमेर जानुपर्ने बाध्यता थियो । तर, पुल बनेपछि यहाँका बासिन्दा सो समस्याबाट मुक्त भएको वडा नम्बर १४ का वडाध्यक्ष बाबुलाल सुब्बाले बताए ।

उनका अनुसार दस मिनेट लाग्ने पाँच सय मिटरको दूरीमा रहेको विद्यालय र वडा कार्यालय पुग्न पत्रासिंहबासीले वर्षायाममा एक घण्टा हिँड्नु पथ्र्यो । सङ्घीय सरकारको रु. एक करोड ३० लाखको लागतमा १३० मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको हो । पुलको उद्घाटन हालसालै मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द बुढाथोकीले गरे ।

उक्त पुलको वि.संं २०७९ माघमा स्थानीय दुर्गा धमलाको अध्यक्षतामा उपभोक्ता समिति बनाएर पुल निर्माण सुरु गरिएको थियो । समितिले निर्धारित मितिभन्दा दुई महिना अगावै पुल निर्माण गरेको वडाध्यक्ष सुब्बाको भनाइ छ ।