झापा । झापाको बुद्धशान्ति गाउँपालिकामा जारी प्रथम बर्खा स्मृति प्रतिष्ठान झापा जिल्ला अन्तरपालिका स्तरीय पुरुष टि-२० क्रिकेट प्रतियोगितामा मेचीनगर र गौरादह नगरपालिका विजयी भएका छन् ।
आज भएको खेलमा मेचीनगर नगरपालिकाले कनकाई नगरपालिकालाई ९१ रनले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।

मेचीनगरले पहिले ब्याटिङ गर्दै १९.१ ओभरमा १० विकेटको क्षतिमा १६६ रन बनाएको थियो। १६७ रनको लक्ष्य पछ्याएको कनकाईले १० विकेट गुमाउँदै ७५ रनमा समेटियो ।
अलराउण्ड प्रदर्शनी गर्दै व्याटिङमा ३२ रन र वलिङमा ३ विकेट लिएका मेचीनगरका आशिक राना मगर म्यान अफ दि म्याच घोषित भए ।

त्यस्तै आज नै भएको पहिलो खेलमा गौरादह नगरपालिकाले गौरीगंज गाउँपालिकालाई ३३ रनले पराजित गरेको छ। पहिले ब्याटिङ गरेको गौरादहले २० औभरमा १५४ रन बनाएको थियो।
१५५ रनको लक्ष्य पछ्याएको गौरीगंजले १० विकेट गुमाउँदै १२१ लक्ष्य प्राप्त गर्न सफल भयो । गौरीगंजका लागि ५१ वलमा ८१ रन जोड्दै विशाल थापा म्यान अफ दि म्याच घोषित भए।
झापाका १५ वटै पालिकाको सहभागिता रहेको प्रतियोगितामा विजेताले नगद १ लाख, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने छ ।
प्रत्येक खेलमा प्लेयर अफ दि म्याचलाई २ हजार, फाइनलको दिन प्लेयर अफ दि म्याचलाई ५ हजार र प्लेयर अफ दि सिरिजलाई १० हजार पुरस्कार दिइनेछ ।

