चारआली । चारआली साना शहरी तथा खानेपानी सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष राजन चिमरियाले १ सय दिने योजना अघि सारेका छन् । आज निर्वाचनपछि सपथ ग्रहणपछि बोल्दै उनले सय दिने अभियान शुरु गरेका हुन् ।
पहिलो प्रयासमा समाजका प्रतिष्ठित बौद्धिक ब्यक्तीहरुको सल्लाहकार समिति गठन गर्ने, सय दिनभित्र नयाँ ट्याङ्की निर्माणका लागि जग्गाको ब्यवस्थापन गर्ने, पानी चुहावटलाई नियन्त्रण गर्नेदेखि श्रोतको ब्यवस्थापन, प्रशोधन र बजारिकरणलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका थिए ।

आफ्नो कार्यकालमा कुनै दल, यो त्यो नभनी साझा रुपमा अघि बड्ने उनको भनाई थियो । उनका अनुसार तीन `स´ स्वास्थ्य, सुरक्षा, संकटलाई तीब्र प्राथमिकता दिइने बताए । स्वास्थ्य भन्नाले पानी शुद्ध बितरण गर्ने, सुरक्षा भन्नाले सबै घरमा आकास्मिक हटलाइन सेवाका नम्बरसहितको स्टिकर मेचीनगर-११,१२,१३ र १४ चारवटै वडाका प्रत्येक घरमा टाँस गर्ने, मृत्यु भएकाको नाउँको धारा उनिहरुको आफन्तको नाममा सारी गर्ने योजनासहितको प्रतिबद्धता जनाएका थिए ।
नवनिर्वचित अध्यक्ष चिमरियाले मुहानदेखि मुखसम्म श्रोत सुदृढीकरण र ब्यवस्थापन गर्ने, प्राकृतिक पिउँने पानी र कृतिम पानी मिलाएर क्षेत्र बिस्तारसहित अघि बड्नेसमेत उनको भनाई थियो ।
आफुले ३ वर्षमा ३ सय बिपन्न परिवारलाई पचास प्रतिशत रकममा धारा जडान गर्ने योजना रहेको छ । जसका लागि बिपन्नलाई बितरण गर्ने धाराको आधा रकम आफुले ब्यवस्थापन गर्ने उनको भनाई छ ।
मेचीनगर-१२ का अध्यक्ष एबम् चारआली साना शहरी तथा खानेपानी सरसफाई उपभोक्ता संस्थाका निवर्तमान अध्यक्ष मधुसूदन निरौलाले पानीलाई जीवनको शंज्ञा दिए। जीवनको सुरुवाती, मरणपछि पनि र शरीर जिउँन पानी अतिआवश्यक रहेको भन्दै संस्थालाई अझ राम्रो गतिमा सञ्चालन गर्न नयाँ नेतृत्वलाई आग्रह गरेका थिए ।
२ लाख २५ हजार लिटरको ट्याङ्की निर्माण गरेर ८ किलोमिटर पाइप बिस्तार भएको र ४० किलोमिटर बिस्तार गर्न बाँकी रहेकाले संबैधानिक र नैसर्गिक अधिकारलाई नभुल्न आग्रह गर्दै आफ्नो कार्यकालको समितिलाई धन्यवाद व्यक्त गरेका थिए ।
मेचीनगरमा खानेपानीको भूगोल छुट्टै छ । अध्यक्ष निरौलाले भने, निन्दा पारी काँकरभिट्टा खानेपानीको क्षेत्र पर्छ । निन्दादेखि हडिया पुलसम्म धुलाबारी खानेपानीको क्षेत्र हो र हडिया पुलदेखि पश्चिम चारआली शहरेडाँगी चारआली साना शहरी खानेपानीको भूगोल हो । उनका अनुसार भूगोल अनुसार छुट्टाछुट्टै खानेपानी संस्थाको शुल्कमा एकरुपता छैन । राज्यमा द्वन्द्व र स्थानीय निकाय नभएको अवस्थामा खानेपानीको सुरुवात गरेको थियो । त्यो अवस्थामा ५ प्रतिशत रकम जम्मा गरेर मात्रै नगर विकास कोषबाट लगानी लिएको हो । त्यति गरेर सञ्चालन गरेर ल्याएको संस्थामा हुनेखाने वर्गकै मासिक शुल्क बक्यौता छ । सामान्य उपभोक्ताले तिर्दै आएको छन् । तर, हुनेखाने मध्यम वर्गले पानीको शुल्क बक्यौता रहेको छ ।
खानेपानी सुरु गर्दा ५०० देखि ६०००/- उठाएर उपभोक्ताको रकम जम्मापछि सहलगानी प्राप्त गरेको हो । त्यो बेला सुरुमा नगद दिने साथीले हालसम्म धारा जोड्न सक्नुभएको छैन ।
१ हजार लिटर पानीको शुल्क दुई सय मात्रै छ । अब संस्थालाई अघि बढाउने जिम्मा नयाँ नेतृत्वको हो ।´
संस्थालाई जग्गा दान गर्ने जग्गादाता इन्द्रबहादुर बिष्टले संस्था परिधिलाई अझ अघि बढाउन आग्रह गरेका थिए ।
संस्थाका पुर्वअध्यक्ष शरद शिवाकोटीले सरकार उदाशिन बनेका कारण संस्थाले तीब्र गतिमा बिकास गर्न नसकेको उद्घोष गरे । पर्खेर बसेका थियौं भने अबको ५० वर्षपछि पनि धाइजन-दुहागढीमा शुद्ध पिउँने पानी ल्याउन नसक्ने उनले दाबी गरे । त्यतीको दुख गरेर निर्माण गरेको संस्थालाई अझ राम्रोसँग संचालन गर्न आशलाग्दो नयाँ समिति पाएको बताए ।
काँकरभिट्ट खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष रोहितकुमार बुढाथोकीले शुद्ध पिउँने पानी २४ सै घण्टा मानव सेवाका लागि भएको उद्घोष गरे ।
सरकारले खानेपानी संस्थामा बिजुलीमा छुट र आयकरमा छुट दिएमात्रै संस्था सञ्चालनमा सहयोग पुग्ने बताए । संस्थाले ऋणको भार थेग्न नसक्दा उपभोक्ताको महशुल घटाउन नसकेको समेत उनले उल्लेख गरे । मानव फोहोरलाई कम्पोस्ट मल बनाउने मेसिन आएपनी नगरको सक्रियता नहुँदा उपभोक्ता त्यसबाट बन्चित भएको बताए ।
मेचीनगर-१२ का वडाध्यक्ष कृष्णराज सिग्देलले धारा जडान गर्दा तिर्नुपर्ने मोटो रकमका कारण १३ हजार कमजोर आर्थिक अवस्थाका नागरिकले धारा जडान गर्न नसकेकाले पाँच हजार रकममै धारा जडान र न्यूनतम ५० रुपैयाँ शुल्क निर्धारण गर्नुपर्नेमा जोड दिएका थिए ।
उनले सर्वहाराको स्वास्थ्यलाई मध्यनजर गरेर आएको शुद्ध पिउँने पानीको योजनाबाट हुने वर्गले मात्रै उपभोग गर्दै आएको भन्दै उक्त योजना ल्याउन आग्रह गरेका थिए ।
ऋणमुक्त भएपछी मात्रै खानेपानी संस्थालाई प्राधिकरण बनाउने दाउमा मेची नगरपालिका रहेकाले खानेपानीयुक्त वडाको रुपमा बिकास नभएको उनको भनाई थियो ।
निर्वाचन समितिका संयोजक सन्तोष नेउपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गुरुभक्त काफ्लेले गरेका थिए ।
सपथ ग्रहण:-
नवनिर्वाचित कार्यसमिति र लेखा समितिलाई सपथ खुवाएपछि प्रमाणपत्र बितरण गरिएको छ ।
निर्वाचित अध्यक्ष राजन चिमरिया, उपाध्यक्ष मैया कार्की, सचिव प्रेमराज घिमिरे, कोषाध्यक्ष साउन मेचे बादललाई सपथ खुवाइएको थियो ।
त्यसैगरी सदस्यमा चन्द्रकला तवेबुङ, हरिप्रसाद घिमिरे, अन्जु फेवादिन लेखा समिति संयोजक अर्जुन खनाल, सदस्य रुद्रप्रसाद रिजाल, रितादेबि रिजाल न्यौपानेलाई समितिका संयोजक शन्तोष नेउपानेले सपथ खुवाएपछि प्रमाणपत्र प्रदान गरेका थिए ।

