मेचीनगर । झापाको मेचीनगर–६ स्थित काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले शनिबारदेखि पदभार सम्हालेका छन् ।
पुर्वको पवित्र धार्मिक तथा पर्यटकीय स्थल पातलगंंगा परिसरमा आयोजित बिशेष कार्यक्रमका बिच निर्वाचन समितिका संयोजक बिक्रम राईको अध्यक्षतामा आयोजित पद हस्तान्तरण तथा वनभोज कार्यक्रमपश्चात् उनीहरुले पदभार सम्हालेका हुन् ।

मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, पुर्व प्रदेश सभा सदस्य माननीय श्रीप्रसाद मैनाली, मेचीनगर ७ का वडाध्यक्ष प्रल्हादमणी ओली, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले (मामा), महासचिव सुन्दर बस्नेत, सल्लाहाकार गंगालाल गुरुङ्ग, पुर्व झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष चन्द्र प्रसाईलगायतका अतिथिहरु उपस्थिती रहेको उक्त कार्यक्रममा समितिका संयोजक राईले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । उक्त अवसरमा नयाँ कार्यसमितिका सदस्यहरुलाई निर्वाचित भएको प्रमाण पत्र वितरण गरिएको थियो ।

त्यसैगरी सेन्टरका निवर्तमान अध्यक्ष मीनबहादुर बस्नेतले नवनिर्वाचित अध्यक्ष मोहन ओलीलाई क्लबको बैठक पुस्तिका, विधान, कार्ययोजना आदि हस्तान्तरण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर प्रमुख बुढाथोकीले फुटबल खेलको क्षेत्रमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले स्थापना कालदेखि नै निरन्तर स्थानीय स्तरमा उल्लेख्य कार्यहरु गरिरहेको बताए । सेन्टरले फुटबल खेलमा नै भविष्य खोज्नेहरुका लागि एउटा मार्गदर्शन बनिरहेको बताए ।

खेलकुद क्षेत्रलाई मेचीनगरले प्राथमिकतामा राखेर अगाडी बढीरहेको बताउँदै नगरप्रमुद बुढाथोकीले यसअघि स्पोर्टस मेनीय मार्फत पनि टोलटोलमा लुकेर रहेको खेलप्रतिभा उजागर गर्ने प्रयास गरिएको जानकारी दिए । उनले आगामी दिनमा समेत सबैसंग छलफल गरेर नगरपालिकाले खेलक्षेत्रमा थप रिजल्ट आउने वातावरण बनाउने प्रयत्न गर्ने बताए ।
धन्यवाद मन्तव्य व्यक्त गर्दै निवर्तमान अध्यक्ष मीनबहादुर बस्नेतले आफ्नो तेस्रो कार्याकाल समेत सफलता पुर्वक सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए । मेचीनगरलाई खेलकुद मय बनाउँदै मेचीनगरको सानको रुपमा मोफसलकै धेरै धनराशी भएको मेचीनगर गोल्डकपको चौथो संस्करणसम्म सफता पुर्वक सम्पन्न गर्न साथ र सपोर्ट गर्ने सबैलाई धन्यवाद व्यक्त गरे । साथै उनले आफुले अबको नयाँ समितिलाई पनि खुलेरै साथ दिने बचनबद्धता व्यक्त गरे ।
नवनिर्वाचित अध्यक्ष दिनेश ओली (नवराज) ले कार्यसमितिकोतर्फबाट प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै आफ्नो नेतृत्वमा रहेको समितिको कार्यकाल पनि पुरै खेलकुख मय रचनात्मक क्रियाकलापमा नै लाग्ने बताए । साथै उनले कोभिडले रोपएको मेचीनगरको शान मेचीनगर गोल्डकपलाई पनि आगामी दिनमा निरन्तर्ता दिने बताए ।
सेन्टरको तेस्रो अधिवेशनले दिनेश ओली (नवराज)को नेतृत्वमा १५ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ । सेन्टरको प्रथम उपाध्यक्षमा अशोक राई र द्वितीय उपाध्यक्षमा युवराज मुखिया, महासचिवमा लाक्पा तामाङ, सचिवमा मानिक पौडेल र कोषाध्यक्षमा पेमनर्बु शेर्पा चयन भएका छन् ।
सदस्यहरुमा उत्तरबहादुर तामाङ, रोशन काफ्ले, आशिष गुरुङ, मन्दिरा डुम्जन, मुन्ना सुब्बा, भूमिका सुब्बा, सुवास रम्तेल र सुरेश तिवारी रहेका छन् । निवर्तमान अध्यक्ष मीनबहादुर बस्नेत पनि कार्यसमितिमा अध्यक्ष पछाडिको वरीयतामा रहनेछन् ।
पद हस्तान्तरण कार्यक्रमको सञ्चालन राजु पौडेलले गरेका थिए ।

