झापा । नेकपा एमालेले चैत ३० गते झापाको दमकमा बृहत् जनसभा गर्ने भएको छ ।
जनसभामा १ लाख जनता सहभागी गराउने तयारी गरेको नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेशका इञ्चार्ज शेरधन राईले जानकारी दिनुभयो । विहिबार दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै नेता राईले प्रतिगामीहरूलाई टाउको उठाउन नदिन एमालेले बृहत् जनसभाको तयारी गरेको बताउनुभयो ।
पार्टीको जरा केन्द्रित अभियान मार्फत वडा, टोलसम्म कार्यक्रम सञ्चालन गरिरहेको एमालेले प्रतिगामीलाई तह लगाउँदै प्राप्त उपलब्धि रक्षाका लागि सक्षम रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले नेकपा एमाले, नेपाली कांग्रेस उपलब्धि रक्षाका लागि चुप लागेर नबस्ने बताउनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै नेता राईले मुलुकमा राजनीतिक अस्थिरता र प्रतिगामी तत्त्वहरू सलबलाएका जनतालाई सचेत गराउन आवश्यक रहेको बताउनुभयो । जादुमयी नम्बर, राजावादी र प्रतिगामीहरू मुलुकको विकल्प हुन नसक्ने उहाँको दाबी छ । एमालेको मिसन २०८४ र समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यलाई कमजोर बनाउन प्रतिगामीहरूले अराजक गतिविधि बढाइएको उहाँको भनाइ छ ।
नेकपा एमाले अहिले पार्टीलाई बलियो आधार तयार गर्न परिचालन भइरहेको बेला अराजक तत्त्वहरूले मुलुकमा अवाञ्छित गतिविधिहरू गरेका उहाँले बताउनुभयो ।
एमालले बृहत् जनसभामा २ हजार स्वयंसेवक परिचालन गर्ने तयारी गरेको छ । जनसभा तयारीका लागि नेता राईको संयोजकत्वमा जनपरिचालन कमिटी बनाइएको छ ।

