शिक्षा

इष्ट होराइजन मेचीनगरकै शैक्षिक गौरव, एसईईमा उच्चतम नतिजा (भिडियो सहित)

मेचीनगर । झापाको मेचीनगर–१० मा रहेको इष्ट होराइजन माविले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उच्चतम नतिजा प्राप्त गर्दै फेरि एकपटक आफूलाई मेचीनगरकै अग्रणी शैक्षिक संस्था सावित गरेको छ।

२०८१ सालको एसईई परीक्षामा सहभागी विद्यार्थीहरू शतप्रतिशत उत्तीर्ण गराउन सफल इष्ट होराइजन माविले पुनः आफ्नो शैक्षिक विरासत कायम राखेको हो।

विद्यालयको तर्फबाट यसपटक एसईईमा १०७ जना विद्यार्थी सहभागी थिए । सहभागी सबै शतप्रतिशत पास भएका विद्यालयका प्रिन्सिपल सञ्जीव राईले जानकारी दिए । उनका अनुसार एसईईमा सहभागी विद्यार्थीहरु मध्ये एक जनाले ४ जिपिए ल्याउन सफल हुँदा ३५ जना ए प्लस, ४८ जना ए, २२ जना वी प्लस र २ जना वी जिपीए ल्याउन सफल भएका छन् ।

विद्यालयका प्रिन्सिपल राईले, हाम्रो लक्ष्य केवल अंकमा मात्र नभई विद्यार्थीलाई जिम्मेवार, सिर्जनशील र नेतृत्व क्षमतायुक्त नागरिक बनाउनु रहेको बताए । साथै उनले यो नतिजा विद्यार्थी, शिक्षक, अभिभावक र व्यवस्थापनको समन्वयको प्रतिफल रहेको जनाए ।

इष्ट होराइजनले केवल पाठ्यपुस्तक केन्द्रित शिक्षामै सीमित नरही भाषिक दक्षता, प्रविधिको उपयोग, जीवनपयोगी सीप, खेलकुद, कला-संस्कृति र नैतिक शिक्षामा समेत विशेष ध्यान दिँदै आएको प्रिन्सिपल राईको भनाइ छ।

यता अभिभावकहरूले पनि विद्यालयको लगाव प्रति उच्च सम्मान रहेको बताउँछन् । उनीहरूका अनुसार इष्ट होराइजनमा बालबालिकाको भविष्य सुरक्षित महसुस भएको छ। यो एसईईको नतिजाले विद्यालयप्रतिको विश्वास अझै बढाएर लगेको बताए ।

यसैबीच इष्ट होराइजनले सोमबार विद्यालय परिसरमा प्लस टु सकेका पुर्व विद्यार्थी, एसईई २०८१ उत्तीर्ण भएका र एसईई २०८२ को तयारीमा रहेका विद्यार्थीहरू बिच अनुभव साटासाट कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा एसईईको तयारी गरिरहेका विद्यार्थीहरूलाई सोही विद्यालयबाट प्लस टु सकेका तथा एसईई २०८१ उत्तीर्ण भएका विद्यार्थीले हौसला प्रदान गरेका थिए । उक्त कार्यक्रमका बिच विद्यालयको तर्फबाट ४ जिपिए ल्याउन सफल विद्यार्थी अन्वेषा श्रेष्ठलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालयबाट यसअघि कक्षा १२ पास भएर गएका प्रवेश दाहाल, उत्साह पौडेलले पढाईसंगै विद्यालयमा हुने अन्य प्राविधिक विषयहरुमा पनि मेहेनत गर्न सके सफल हुन समस्या नहुने बताए ।

तोरी पिसाएपछि मात्र तेल निस्कन्छ, त्यस्तै अभिभावक, विद्यालयको वातावरण, शिक्षक र व्यवस्थापनको मायाले हामीभित्र लुकेको प्रतिभा पनि प्रस्फुटन गर्न सके असम्भव केहि नभएको उनीहरुको भनाई छ ।

त्यसैगरी २०८१ सालको एसईईमा ४ जिपीए ल्याएर मेचीनगरमा उत्कृष्ट बन्न सफल छात्रा अन्वेषाले पनि शिक्षक, अभिभावकहरुको माया र हौशलाले मेहेनत गर्न बल पुगेको भएको बताइन् ।

विद्यालयकी हेड क्यापटेन समेत रहेकी अन्वेषाले धेरै नपढे पनि कोचिङ लगायत कक्षाको पढाईलाई नै फोकस गरेर मेहेनत गरेको उनको भनाई छ । उनले विद्यालयको शान्त, व्यवस्थित र प्रविधिमैत्री वातावरणले सिकाइलाई अझ प्रभावकारी बनाएको बताइन् ।

इष्ट होराइजन माविका प्रिन्सिपल सञ्जीव राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा मेचीनगर शिक्षा शाखा प्रमुख भण्डारी शिक्षकहरु तुलसीराम घिमिरे, इश्वर घिमिरेलगायतले बोल्दै आ–आफ्ना अनुभव साटेका थिए । विद्यालय प्रशासन, विद्यार्थी, शिक्षक, पत्रकारलगायतक‍ उल्लेख्य सहभागीता रहेको कार्यक्रम सञ्चालन शिक्षक विकास ग्वालले गरेका थिए ।