विचार

पात, पसिना र परिवर्तन

बाहुण्डाँगी । हरियो चियाको पात भित्र लुकेको त्यो दृश्य केवल सौन्दर्यको कथा होइन। त्यो दृश्य दुःखको हो, पसिनाको हो र एउटै प्रश्नको अन्वेषण हो।“जीवनलाई कसरी समृद्धि बनाउने?” बाहुनडाँगीको चिया बगैंचामा उभिँदा आज पनि म ती हातहरू सम्झन्छु, जसले माटोभित्र सपना रोपेका थिए। त्यो सपना प्लानिङले होइन, आँटले हुर्किएको थियो। हामीसँग बजार थिएन, ब्रान्ड थिएन, नीति थिएन । थियो त केवल एउटा सामूहिक संकल्प थियो हाम्रो गाउँले जीवन बदलिनुपर्छ।

त्यो माटो, जसमा हामीले चियाको बिरुवा रोप्यौं, त्यो हाम्रै छालाबाट बगेको पसिनाले भिजेको थियो। श्रमका चिराहरूभित्र लुकेका सपना र त्यो सपना बगैंचाको हरियालीमा परिवर्तन भएको हामीले देख्यौं। तर समयसँगै हामीले पनि देख्यौं बजारको उतारचढाव, मूल्यको अस्थिरता, र विषादीको भरमा टिकेको उत्पादन पद्धतिले त्यो सपना सधैं स्वस्थ रहन सकेन। चिया उत्पादन त बढ्यो, तर कहिलेकाहीँ हामीले माटोको उर्वरता, श्रमिकको स्वास्थ्य, र भविष्यको हकमा सम्झौता गरेका रहेछौँ।आज म केवल वडाध्यक्षको हैसियतमा होइन, चिया रोपन श्रीगणेशदेखिको पुरानो र अप्ठ्यारो कथा बोकेको अनुभव लेखिरहेको छु।

आत्मालोचना गर्नु कमजोरी होइन, त्यो परिवर्तनको प्रवेशद्वार हो। हामी स्वीकार गर्छौं हामीले गल्ती गर्‍यौं। हामीले मुनाफाको लागि कहिले काँही मौन बस्यौं। हामीले उत्पादनको लोभमा कहिले काँही प्रकृतिसँग सम्झौता गर्‍यौं। विषादीले मानवको छाला, फोक्सो, गर्भ, मस्तिष्क र सिंगो जैविक तन्त्रमा असर पुर्‍याइरहेको हामीले झलझली आज अनुभूत गरिरहेका छौं। अब ती दिनहरू गए जहाँ आँखा चिम्लेर बस्न सकिन्थ्यो। अब हामीले रूपान्तरणको बाटो रोजेका छौं। सबैले भन्न सक्नुपर्छ हामी याचना गर्दै सबैमा आह्वान गर्छौं।

रूपान्तरण केवल भाषण होइन, व्यवहार हो। हामीले चियालाई अब केवल पिउने चिज होइन,बाँच्ने कथा बनाउने अभियान सुरु गरिसकेका छौँ। चियाको स्वादसँगै स्वच्छता, आत्मसम्मान, स्वास्थ्य र संस्कृति मिसिन थालेको छ। अब हामी श्रमिकलाई बीमाको सुरक्षा दिइरहेका छौं।रोगको डर, मृत्युको डर अकेलो नहोस् सरकार साथमा छ भन्ने अनुभूति दिनका लागि। नियमित स्वास्थ्य परीक्षण, महिलामैत्री सेवा, स्वास्थ्य साक्षरता जस्ता कार्यक्रमहरू हामीले अघि सारेका छौं।

अब श्रमिकले चिया मात्र टिप्दैनन् उनीहरूको श्रम पनि सुरक्षित छ भन्ने विश्वास रोपिन्छ। शिक्षा पनि अब केवल अक्षरमा सीमित छैन। खेलकुद, चित्रकला, साहित्य, नाटक, गायन, नृत्य सबैलाई गाउँको नीति बनाउँदैछौं। बच्चाले केवल किताब पढ्ने होइन विभिन्न अनुभूत र स्वाद जस्तै ढिंडो खान पनि सिक्नुपर्छ भन्ने हाम्रो दृढ पुनरावृत्ति अभियान पनि हो, जहाँ जीवन जोडिएको छ। मैदा लेज कुर्कुरे चाउचाउ होइन, फापर मकै कोदो हो। विषादी होइन, मह हो। हामीले ‘जंक फुड मुक्त बालनीति’लाई अबको आवश्यकता मानेका छौं।

पर्यटन पनि अब नयाँ आँखाले हेर्नुपर्ने बेला आएको छ। चियाको सुगन्ध मात्र होइन, चियाको कथा पनि सुनिनु पर्छ। चिया मजदुरको पसिनाले भिजेको त्यो कथा , किसानको पीडा, पर्यटकको कानमा पुग्नुपर्छ। चिया बगैंचा भित्रको संगीत, श्रमिकको जीवनशैली र गाउँको आत्मा यी सबै मिसिएर एउटा पाठशाला जस्तो अनुभूति दिलाउने ठाउँ बन्न सक्दछ बाहुनडाँगी। यही भावनाले हामीले बाहुनडाँगीलाई अर्गानिक चियाको मोडल बन्दै अघि बढाएर लानुपर्ने पक्का पक्की भएको छ।

यसैबीच, हामीले अरू एउटा सत्य पनि बुझेका छौं ,मानिसको रिस हात्ती प्रति होइन, आफ्नो जीवन र बाली प्रति माया हो। हाम्रो गाउँमा मानिस र हात्ती बीचको सम्बन्ध कहिल्यै नकारात्मक देखिनु हुँदैन बिस्तारै सकारात्मक बाटोमा उक्लिँदैछ।सायद त्यो आजको समाजले स्वीकार गरोस् वा अस्वीकार। केवल सुरक्षाको खाँचो जनमानसलाई आफ्नो पसिनाको ग्यारेन्टी चाहिएको छ किसानलाई। त्यसैले हामीले सहअस्तित्वका कार्यक्रमहरूलाई प्राथमिकता दिएका छौं।जैविक बार, तटबन्ध, फेन्सिङ मर्मत, आरआरटी, ‘तोरी–मौरी घर–लौरी’जस्ता कार्यक्रमहरूबाट हामी जङ्गल र बस्ती बीच संवादको पुल बनाइरहेका छौं।

हामीले ग्रामीण समाजलाई टेकेर बनाएका सबै कार्यक्रमहरूको मुटुमा मानवीय संवेदना छ। वृद्धवृद्धालाई घङ्गरुको लठ्ठी, निःशुल्क दाँत मुस्कान उपहार,निःशुल्क रगत, गर्भवती महिला आपत्कालीन परिस्थितिमा एम्बुलेन्स सेवा, बालमैत्री खेलकुद, कला संगीत साहित्य ,श्रमशील युवाका लागि स्वरोजगार तालिम यी सबै कुराले बाहुनडाँगीलाई एउटा चियाबारी मात्र होइन, सामाजिक न्याय र भविष्यको प्रयोगशाला बनाउँदै ल्याएका छौं।

हामी विश्वास गर्छौं । गल्तीबाट भाग्ने होइन, उसैलाई सहारा बनाएर अघि बढ्ने हो। हामी भनिरहेका छौं सपनाको स्वाद अब शुद्ध बनाऔं।हामी बाँच्न खोजिरहेका छौं, मात्र आर्थिक मूल्यका लागि । होइन जीवनको गुणस्तर, सन्तुलन र सन्देशका लागि सबैले बाँच्न पाउनुपर्छ।

चिया अब केवल पिउने कुरा होइन, बाँच्ने कथा हो। त्यो कथामा पसिना, आँसु, फूल र गीत संगीतसँगै मिसिएको छ। त्यसैले हामी सबैलाई करुणा, प्रतिबद्धता र सृजनाको साथ यही आग्रह गर्दछौं

विषादीरहित समाज बनाऔं। बच्चालाई केवल शिक्षा होइन, शुद्ध स्वाद पनि दिऔं। सिर्जना, श्रम र स्नेह मिलाएर गाउँको बाटो उज्यालो बनाऔं। (लेखक: अर्जुन कुमार कार्की, वडाध्यक्ष,मेचीनगर-४, बाहुण्डाँगी, झापा)