संघ \संस्था

यातायात कार्यालय झापामा सेवाग्राहीलाई सास्ती, कार्यालय सधैं पैसा असुल्न मै व्यस्त

झापा । झापाको विर्तामोड स्थित यातायात व्यवस्था कार्यालयमा सेवा लिन आउने नागरिक सधैं सास्ती खेप्न बाध्य छन्। अव्यवस्थित लाइन, बिचौलियाको खेलोफड्को, कर्मचारीको ढिलासुस्ती त सामान्यजस्तै भइसकेको यस कार्यालयमा अहिले स्वास्थ्य परीक्षणमा समेत दोब्बर शुल्क असुलिने गरेको गुनासो सेवाग्राहीमा बढ्दै गएको छ।

सवारी चालक अनुमतिपत्र लाइसेन्स लिन यातायात व्यवस्था कार्यालय झापा आउने सेवाग्राही बिहान सबेरै लाइन लाग्छन्। तर, कार्यालयमा न त समयमै काम हुन्छ, न त प्रक्रिया छरितो छ। झन अहिले त स्वास्थ्य परीक्षणका नाममा बढी शुल्क असुलिएको भन्दै सेवाग्राही आक्रोशित छन्।”

यस अघि सवारी चालक अनुमतिपत्र लिन यातायात कार्यालय जाँदा सेवाग्राहीले निजी क्षेत्र मार्फत स्वास्थ्य परीक्षण बापत नगद १५० रूपैयाँ तिर्दै आएका थिए । तर, निजी मेडिकलले गरेको स्वास्थ्य परिक्षण भरपर्दो नभएको दाबी सहित कोशी प्रदेश सरकारले आफै स्वास्थ्य परिक्षण सरकारी कार्यालयले नै गर्ने भन्दै काम अगाडि बढाएको छ । तर, सेवा सरकारी कार्यालयबाट प्रदान गर्ने प्रक्रिया अगाडि बढाएको भएता पनि स्वास्थ्य परिक्षण बापत लिइदै आएको शुल्क भने दोब्बर बनाएको छ । यसले सेवालिन आएकाहरु मारमा पारेको स्थानीय क्रिफान नेम्बाङ्ग बताउँछन् ।

सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि पेश गर्नु पर्ने निरोगिता प्रमाण पत्रका लागि यस अघि निजी क्षेत्रले सेवाग्राहीबाट १५० रुपैयाँ लिँदै आएकोमा अहिले सरकारले ठीक दोब्बर शुल्क ३०० रुपैयाँ लिएर स्वास्थ्य परीक्षण गरिरहेको अर्का सेवाग्राही मेराज मियाको भनाइ छ । योे कार्य सरासर नागरिकको ढाड सेक्ने कार्य मात्रै भएको उनको भनाई छ । उनले यातायात व्यवस्था कार्यालयमा सेवा भन्दा सास्ती बढी हुने गरेको गुनासो गरे ।

निजी क्षेत्रले स्वास्थ्य परीक्षण गर्दा अनफिट देखिए लिएको शुल्क फिर्ता गर्ने गरेको भएपनि सरकारले भने त्यस्तो अवस्थामा सो शुल्क फिर्ता गर्दैन । सेवाग्रहीले स्वास्थ्य परिक्षण गर्दा बुझाएको राजस्वको ओसी समेत एक प्रति बैंकले र एक प्रति मेडिकलले राख्ने गरेकोले पैसा बुझाएको कुनै प्रमाण समेत राख्न नपाएको सेवाग्राहीहरुको भनाई छ । सेवामा कुनै सुधार छैन, खाली कर बढाउने र सेवाग्राहीमाथि आर्थिक बोझ थोपारिएको छ । सार्वजनिक सेवामा यस्तो अव्यवहारिक कार्यको सरकारले नजरअन्दाज गर्नु गलत भएको जानकारहरू बताउँछन् ।

त्यस्तै यातायात कार्यालयमा सेवाग्राहीले भौचर शुल्क बुझाउँदा समेत ठगिनुपर्ने अवस्था रहेको पाइएको छ । कार्यालयमा पाँच सय रुपैयाँको क्यूआर स्क्यान मार्फत भौचर काट्नु पर्ने व्यवस्था रहेको छ । तर, यातायातका कर्मचारी र बिचौलियाको सेटिङ्गमा कार्यालयको क्यूआर स्क्यान चल्दैन । सेवाग्राहीले भौचर लिनका लागि कार्यालय बाहिर गएर क्यूआर गर्नपर्ने बाध्यकारी अवस्था रहेको छ । जसमा बाहिर बिचौलियाले ५०० रुपैयाँको ठाउँमा ६५० रुपैयाँ असुल्ने गरेको कार्यालयमा सेवा लिन गएका राम घतानी बताउँछन् । सबैको मिलेमतोमा यस किसिमको खुलेआम सेवाग्राही लुट्ने कार्य भएको उनको भनाई छ ।

सेवाग्राही ठगिएको र सेवा चेस्तदुरुस्त नभए गुनासा व्यप्त आएपछि यस बिषयमा यातायात व्यवस्था कार्यालयमा बुझ्दा कार्यालय मार्फत जारी हुने सेवामा समस्या नरहेको प्रतिक्रिया दिएको छ । आफ्नो मातहतमा रहेका कर्मचारीहरुलाई सहजरुपमा सेवा प्रदान गर्न निर्देशन दिइएको बताउँदै कार्यालय प्रमुख प्रेमप्रसाद सापकोटाले नागरिकलाई सेवा लिन समस्या नहुने बताउँछन् । त्यस्तै उनले बर्षौदेखि निजी क्षेत्रबाट हुँदै आएको स्वास्थ्य परिक्षण सरकारको मातहतमा ल्याएर थप व्यवस्थित पार्ने योजना सरकारको रहेका र त्यसलाई कार्यन्वयन गर्न आफुहरु लागेको प्रतिक्रिया दिन्छन् ।

झापाको यातायात कार्यालयमा देखिएको यस्तो मनपरी शुल्क असुलीले सेवाग्राहीको विश्वास कमजोर मात्र बनाएको छैन, सवारी अनुमति प्रक्रिया नै बदनाम भएको छ । यस तर्फ सम्बन्धित निकायले तत्कालै ध्यान दिनुपर्ने देखिन्छ ।