इलाम । “समयमै कार्ययोजना नविकरण गरौं, सामुदायिक वनलाई गतिशील बनाऔं” भन्ने मूल नारासहित सामुदायिक वन दिवस २०८२ को अवसरमा इलामको चुलाचुली गाउँपालिका–१ स्थित कमल सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।

कमल सामुदायिक वनको आयोजनामा र सब–डिभिजन चुलाचुलीको समन्वयमा भएको कार्यक्रममा वनका उपभोक्ताहरुको सक्रिय उपस्थिति रहेको थियो। कार्यक्रमअन्तर्गत सामुदायिक वन क्षेत्रभित्र पर्ने किचकन्या खण्ड परिसरमा विभिन्न जातका बिरुवाहरू रोपण गरिएको हो।

सामुदायिक वनका अध्यक्ष संगीता थलङका अनुसार हरेक आर्थिक वर्षमा वृक्षारोपण गरिए पनि उक्त क्षेत्र चौपाया चरिचरनको स्थान भएकाले बिरुवाको संरक्षण र सम्बर्द्धनमा ठूलो चुनौती रहने गरेको छ। उनले यस वर्ष रोपिएका बिरुवाको दीर्घकालीन संरक्षणका लागि आम उपभोक्ताको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै सबैलाई संरक्षण अभियानमा जोडिन आह्वान गरिन्।

वृक्षारोपण कार्यक्रममा स्थानीय उपभोक्ता समूहका सदस्य, वन विभागका प्रतिनिधि तथा सरोकारवाला निकायका व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो।

