मेचीनगर । झापाको मेचीनगर–४ स्थित बाहुण्डाँगीमा चौथो अन्तर्राष्ट्रिय तरूल उत्सव आयोजना हुने भएको छ । यसअघि तेस्रो संस्करण सफलतापूर्वक सम्पन्न गरेको तरूल उत्सव आयोजक समितिले यसपटक पनि पुस ३० गतेदेखि माघ २ गतेसम्म तीन दिनसम्म रैथाने तरूलको भव्य उत्सव मनाउन लागिएको हो ।
पर्यटन प्रवर्द्धन र स्थानीय उत्पादनको पहिचानलाई उद्देश्य बनाइएको उत्सवमा विभिन्न जातका रैथाने तरूलको प्रदर्शनी, बिक्री तथा परिकार प्रदर्शनी गरिने आयोजकले जनाएको छ । उत्सवले बाहुण्डाँगी क्षेत्रलाई कृषि र पर्यटनको गन्तव्यका रूपमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
पर्यटन अभियान्ता एवम् मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीका अनुसार तरूल उत्सवले स्थानीय कृषकको उत्पादनलाई बजारसँग जोड्ने मात्र नभई आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ । “रैथाने तरूल हाम्रो मौलिक पहिचान हो, यसलाई उत्सवका रूपमा मनाउँदै पर्यटनसँग जोड्नु हाम्रो मुख्य उद्देश्य हो,” कार्कीले भने ।
उत्सव अवधिभर सांस्कृतिक कार्यक्रम, स्थानीय कला–संस्कृतिको प्रस्तुति, कृषि तथा पर्यटनसम्बन्धी जानकारीमूलक गतिविधि समेत सञ्चालन गरिने जनाइएको छ । अघिल्ला संस्करणहरूमा ठूलो संख्यामा स्वदेशी तथा छिमेकी मुलुक भारतीय पर्यटकको सहभागिता रहेकाले यसपटक पनि उल्लेख्य उपस्थिति रहने आयोजक समितिको विश्वास छ ।

