साहित्य

राजकीय सम्मानसाथ राष्ट्रकवि घिमिरेको अन्त्येष्टि

काठमाडौं, भदौं ३ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राजकीय सम्मानसाथ अन्त्येष्टि गरिएको छ । लम्जुङको पुस्तुनमा १९७६ असोज ७ गते जन्मिएका घिमिरेको १०२ वर्षको उमेरमा मंगलबार साँझ करिब ६ बजे निधन भएको थियो ।

बुधबार बिहान गौशालास्थित पशुपति आर्यघाटमा राजकीय सम्मान साथ उहाँको अन्येष्टि गरिएको हो । उपप्रधान तथा मन्त्री ईश्वर पोखरेलले उहाँको पार्थिव शरीरमाथि नेपालको राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

उनका नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले,(गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर–किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत लगायतका कृति सर्वाधिक चर्चित छन् ।

घिमिरेका दुई कृतिले साझा पुरस्कार पाएका छन् । २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार पाएका हुन । २०६७ सालमा उनलाई पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए ।

‘गाउँछ गीत नेपाली’ फूलको थुङ्गा बगेर गयो गंगाको पानीमा, आजै र राति के देखेँ सपना’ जस्ता चर्चित गीत रचना गरेका थिए ।